दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिले सिद्धान्तको राजनीति आवश्यक भएको बताएका छन् ।
नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिको आयोजनामा शनिबारदेखि दमौलीमा शुरु गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै वरिष्ठ नेता पौडेलले सिद्धान्तको राजनीतिले मात्रै मुलुकलाई समृद्ध बनाउने बताए ।
उनले भने, ‘सिद्धान्तको राजनीतिले नेपाललाई युरोपतिर पु¥याउँछ, सांस्कृतिक द्वन्द्वका राजनीतिले नेपाललाई रुवान्डा र सोमालियातिर पु¥याउँछ ।’ वरिष्ठ नेता पौडेलले प्रजातान्त्रिक समाजवादको आदर्शले मात्रै सबै जातजाति, भाषा, धर्म र क्षेत्रलाई समान अवसर दिने बताए ।
वरिष्ठ नेता पौडेलले सरकारको एक वर्षको काम प्रभावकारी नभएको बताउँदै सरकारले एक वर्षको समय त्यत्तिकै खेर फालेको टिप्पणी गरे । उनले भने, ‘हिजो लाखको र करोडको भ्रष्टाचार सुनिन्थ्यो, आज अरबौका भ्रष्टाचारका कुरा बाहिर आएका छन् । त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन । ’
वरिष्ठ नेता पौडेलले सरकारले ल्याएको रोजगार कार्यक्रम कार्यकर्ता पोस्ने काम मात्रै भएको टिप्पणी गरे । रोजगारको विकल्प नभइकन रोजगार दिन्छु भन्नु कार्यकर्तालाई पैसा बाँड्ने काम भएको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।
कांग्रेस सुध्रिएर अघि बढ्नुपर्नेमा जोड दिँदै वरिष्ठ नेता पौडेलले कांग्रेसभित्रै शुद्धीकरणको आवश्यकता रहेको बताए ।
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले समृद्ध र विकासका लागि कांग्रेसको सरकार आवश्यक रहेको बताउँदै मत प्रतिशत बढाउने गरी सङ्गठन अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले नेपाल एकीककरणमा मगर समुदायको भूमिका उदाहरणीय रहेको चर्चा गर्दै पार्टीको केन्द्रीय तहमा समेत मगर समुदाय आउनुपर्ने बताए ।
केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले सबै जातजातिको हकहित संरक्षणका लागि पार्टी प्रतिबद्ध रहेको बताए । केन्द्रीय सदस्य धनराज गुरुङले सरकारको सदाचारको बाटो बिराएको बताए ।
केन्द्रीय सदस्य शङ्कर भण्डारीले देशलाई समृद्धिको दिशामा अगाडि बढाउने अभियानमा कांग्रेस लाग्नुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य प्रदीप पौडेलले जिम्मेवार ढङ्गबाट सरकार अगाडि बढोस् भन्ने काङ्ग्रेसको शुभकामना रहेको बताए ।
आइतबारसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि सहभागी रहेको नेपाल राष्ट्रिय मगर सङ्घका केन्द्रीय सभापति ओम घर्तीमगरले जानकारी दिए । रासस
प्रतिक्रिया