नेपाल

१३ वर्षीया बालिका करणी गर्ने दुई युवा पक्राउ

१३ वर्षीया बालिका करणी गर्ने दुई युवा पक्राउ


सौराहा । पूर्वी चितवनको सौराहाबाट जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई शुक्रबार राति पक्राउ गरेको छ । 
 
इलाका प्रहरी कार्यालय रत्ननगरले १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा जिल्लाको कोहोल्बी नगरपालिका निवासी ३० वर्षका गंगा चौधरी र सोही ठाउँका अजय कुमार रहेका छन् । 
 
उनीहरुलाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । चौधरी र कुमार ज्याला मजदुरी गर्न सौराहामा डेरामा बस्दै आएका थिए । बारा जिल्लाकै आमाबुबासँग डेरामा बस्ने बालिकालाई पैसाको प्रलोभनमा पारेर दुई युवाले करणी गरेको इलाका प्रहरी
 
कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक डीएसपी दयानिधि ज्ञवालीले जानकारी दिए । 
 
बालिकाकी आमाले शुक्रबार साँझ ५ बजे प्रहरीमा उजुरी दिएपछि राति नै उनीहरुलाई सौराहाबाट नियन्त्रणमा लिइएको ज्ञवालीले जानकारी दिए । पैसाको प्रलोभनमा पारेर युवाहरुले आफू बस्ने कोठामै लगेर करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । 
 
बालिकालाई मेडिकल जाँच गरी परिवारको जिम्मा लगाइएको छ । आरोपित युवाहरुलाई जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाएर अनुसन्धान भइरहेको डीएसपी ज्ञवालीले जानकारी दिए ।