मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चिकित्सक संघको आन्दोलनले छोएन चितवनलाई

चिकित्सक संघको आन्दोलनले छोएन चितवनलाई


भरतपुर । विगत २४ दिनदेखि अनशनरत डा केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने घोषणा गरे पनि चितवनका अस्पतालमा भने सबै सेवा सञ्चालनमा आएको छ । 
 
भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बहिरङ्ग सेवा सञ्चालन गरिएको छ भने चिकित्सकले बिरामी जाँच गरेका छन् । भरतपुर र क्यान्सर अस्पतालमा बिरामीलाई प्रदान गरिने जुनसुकै सेवा नरोक्न अस्पताल प्रशासनले चिकित्सकलाई निर्देशन दिएको छ । 
 
भरतपुर अस्पतालमा दर्जन बढी चिकित्सकले बहिरङ्ग सेवाका बिरामीको जाँच गरेका छन् । अधिकांश चिकित्सक भने ओपिडीमा बिरामी जाँच गर्न आएका छैनन् । चिकित्सक नआएका वार्डका बिरामीलाई आकस्मिक कक्षबाट पनि उपचार गरिरहेको अस्पतालले जनाएको छ । 
 
भरतपुर अस्पताल सञ्चालन समितिका अध्यक्ष खिमलाल भण्डारीले अस्पतालको सेवा बन्द नगर्न चिकित्सकलाई निर्देशन दिइएको भन्दै उपचार गर्न नआउने चिकित्सकलाई स्पष्टीकरण सोधिने बताए । 
“अस्पतालमा हड्ताल निषेध छ”, उनले भने, “त्यसविपरीत प्रस्तुत हुने चिकित्सक तथा कर्मचारीलाई कारबाही गछौँ ।” 
 
भरतपुर अस्पतालमा बिरामीको उपचारमा गरिरहेकाका मेडिसिन विभागका डा सुनिल पण्डितले आफ्नो नियमित कार्यअनुसार नै बिरामीको परीक्षण गरिरहको बताए । उनले अस्पतालले बिरामीको उपचार नरोक्नु भनेका कारण बिरामीको जाँच गरिरहेको जानकारी दिए । 
 
चिकित्सक संघ चितवनका अध्यक्ष प्रकाश खतिवडाले चितवनका सबै अस्पताल आउने बिरामीलाई उपचार गरिरहेको बताए । चिकित्सकले नियमित जाँच गरेको दाबी गर्दै उनले बहिरङ्ग सेवामा नआएका चिकित्सकलाई पनि आउनका लागि आग्रह गरिएको बताए । 
 
“चिकित्सक संघको आह्वानमा गरिएको एकदिने बन्द हो”, खतिवडाले भने, “एक दिनको सूचना भएकाले बिरामीलाई थाहा नहुन सक्छ, त्यसैले बिरामीको नियमित उपचार गरिरहेका छौँ ।” 
 
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा विजयचन्द्र आचार्यले बहिरङ्ग सेवाको टिकट काटेर सेवा प्रवाहलाई निरन्तरता दिएको बताए । “केही चिकित्सकले मात्र बिरामी जाँच्नुभएको छ”, आचार्यले भने, “अस्पतालका तर्फबाट बिरामीलाई असहज हुने वातावरण बन्न दिएका छैनौँ ।” 
 
अस्पतालको बहिरङ्ग सेवामा चिकित्सक नभेटेपछि कतिपय बिरामी आक्रोशित बनेका थिए । उनीहरुले बिरामीको उपचारमा नआएर चिकित्सकले गम्भीर लापरबाही गरेको बताए । 
अस्पतालको बहिरङ्ग सेवामा डाक्टरको पर्खाइमा रहेकी पटिहानीकी बसुन्धरा लामिछाने बिरामीलाई उपचार नगरेर डाक्टरले गम्भीर लापरबाही गरेको बताए ।