काठमाडौँ । विगत २२ दिनदेखि आमरण अनशनरत् डा गोविन्द केसीलाई भेट्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शिक्षण त्रिवि अस्पताल महाराजगंज अस्पताल पुगेकी छन् ।
उनले बुधबार दिउँसो महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् ।
कार्कीले डा केसीको अनशनप्रति यसअघि सरकारले चासो नदिएकोमा चिन्ता व्यक्त गरेकी छन् । मंगलबार पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि अस्पताल पुगेर डा। केसीलाई भेटेका थिए ।
डा केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै मुलुकभरका चिकित्सकहरू आन्दोलित छन् । शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकहरूले सामूहिक रिले अनशन जारी राखेका छन् । डा। केसी २२ दिनदेखि अनसनरत् छन् ।
भेटपछि कार्कीले केसीका माग जायज भएकाले पूरा हुनुपर्नेमा जोड दिएकी छन् । केसीका माग सरकारले पूरा गर्ने विश्वास पनि उनले व्यक्त गरिन् । “सरकार किन उदासिन भइरहेको हो, अचम्म लागेको छ,” उनले भनिन्, “सम्झौता गरेर पूरा नगर्दा दुःख लागेको छ ।”
अनसनको २२ औं दिनमा डा। केसीको स्वासप्रश्वासमा समस्या बढ्नुका साथै मुटुको धड्कनमा पनि उतावचढाव आइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । साथै, रिंगटा लाग्ने, छाती दुख्ने र सास लिन गाह्रो हुने समस्या देखिएको छ ।






प्रतिक्रिया