मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसलाई जिस्क्याउनेले राणा र राजालाई हेर : नेता थापा

कांग्रेसलाई जिस्क्याउनेले राणा र राजालाई हेर : नेता थापा


चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले दुई तिहाई बहुमत भएर पनि वर्तमान सरकार कमजोर बन्दै गएको बताएका छन् । 
 
आफूले काम गर्न नसक्दा प्रतिपक्षी दललाई जिस्काउन थालेको भन्दै कांग्रेसलाई जिस्क्याउँदा आफैँ सकिने चेतावनी दिए । ‘कांग्रेसलाई धेरै नजिस्क्याउ, राणा र राजाको जस्तै हविगत होला,’ चेतावनी दिँदै नेता थापाले भने, ‘सभामुखले संसद्को विश्वास नगर्ने, राष्ट्रपतिले गणतन्त्रको विश्वास नगर्ने, प्रधानमन्त्रीले संघीयताको विश्वास नगर्ने अनि कांग्रेसलाई जिस्क्याउने ?’ 
 
कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्न चितवनको माडी आएका नेता थापाले वर्तमान सरकारले विगतका इतिहास मेटाउने प्रयास गर्दै आएकोले त्यसलाई जोगाउने जिम्मा कांग्रेसले लिएको बताए । 
 
इतिहासमै सबैभन्दा सहज परिस्थिति भएर पनि सरकारले खेलाँची गरेको उनको आरोप छ । घटना भएको छ महिना बितिसक्दासमेत निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु लज्जास्पद भएको उनले बताए । ‘जसले देशको शान्ति सुरक्षा बिग्रिँदै गएको प्रष्ट भएको छ,’ उनले भने, ‘उल्टै यस्ता घटना कहिलेकाहीँ भइहाल्छ नि भनेर बोल्दै हिँडेको छ यो सरकार । यसले जनता कसरी सुरक्षित हुन सक्छ ?’
 
अनशनरत डा गोविन्द केसीको जीवनरक्षामा कुनै ध्यान नदिइएको भन्दै उनको मागलाई बेवास्ता गरेर ‘चिकित्सा शिक्षा विधेयक’ पारित गरेको भन्दै त्यसलाई छलफल गर्ने प्रयाससमेत नगर्नु सरकारको लाचारीपन भएको उनको भनाइ छ ।
 
केही दिनअघि नेकपामा प्रवेश गरेका नेपाली कांग्रेसका पुराना नेता तीर्थ भुसालको विषयमा बोल्दै नेता थापाले त्यसलाई आश्चार्य नमान्न पार्टी कार्यकर्तालाई आग्रहसमेत गरेका छन् । 
 
नेता थापाले काङ्ग्रेसमा आत्मसमीक्षा गर्दै आत्मविश्वास बढाउन आवश्यक रहेको बताए । निर्वाचनमा भएका तिक्तता हटाउँदै पार्टीलाई बलियो बनाएर लैजानु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । अहिले काङ्ग्रेस सङ्कटमा परेको भन्दै उहाँले सङ्कटका समयमा आत्मविश्वास बढाएर अघि बढ्नुपर्ने बताए । 
 
नेपाली काङ्ग्रेस सङ्कटमा पर्दा सधैँ मुलुक पनि सङ्कटमा पर्ने गरेको भन्दै उनले यो सङ्कटबाट उठाउने जिम्मेवारी पनि काङ्ग्रेसकै काँधमा रहेको बताए । संसदबाट चिकित्सा विधेयक पास गर्दै गर्दा सत्तापक्ष मेडिकल माफियाको चङ्गुलमा फसेर गोविन्द केसी र विपक्षीलाई बेवास्ता गरेको उनको भनाइ थियो । 
 
नेपाली काङ्ग्रेस माडी नगर समितिका सभापति कमलनाथ भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापती टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, पृथ्वीमान गुरुङ, टीकाराम न्यौपाने, महासमिति सदस्य सविता बराल, साजनकुमार महतोलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा ३४ जना प्रजातन्त्रका सेनानीलाई सम्मान गरिएको थियो । 

शेयर गर्नुहोस:

0
Shares