दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट सरकार अधिनायकवादी हुन नसक्ने बताएका छन् ।
कम्युनिष्ट नेता एकदेव आलेको ५०औँ स्मृति दिवसका अवसरमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान तनहुँको भवन उद्घाटन र स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दलले भने जस्तो अधिनायकवादी हुन नसक्ने बताए ।
उनले हुकुमी शासन लाद्ने र देशमा अधिनायकवाद आउने कसैले सोचेको छ भने त्यस्तो सोच त्याग्न आग्रह गरे । चुनावबाट काङ्ग्रेस विस्थापित भएपछि छटपटाएको आरोप लगाउँदै वरिष्ठ नेता नेपालले जनताकै सेवाका लागि सरकार गठन भएकोले वर्तमान सरकार जनताबाट टाढा भाग्न नसक्ने बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले सरकारको बारेमा आएका गुनासा जायज भए त्यस्ता जायज गुनासालाई सम्बोधन गर्न सरकार तयार रहेको जानकारी गराए । निरन्तर जनताका पक्षमा काम गरेकोले जनताले कम्युनिष्ट पार्टीलाई बहुमत दिएको चर्चा गर्दै वरिष्ठ नेता नेपालले जनताको विश्वास र समर्थनलाई पूरा गर्नेतर्फ सरकार अघि बढेको दाबी गरे ।
कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि अहिलेको आवश्यकता रहेकोले त्यसतर्फ सरकार अघि बढेको बताए । सरकार गठन भएको छोटो अवधिमा सरकारले धेरै काम गर्न नसके पनि राम्रो काम गरेको चर्चा गर्दै उनले सरकारलाई सफल बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।






प्रतिक्रिया