काठमाडौं । संघीय संसदबाट शुक्रबार दिउँसो चिकित्सा शिक्षा विधेयक पारित भएपछि विगत १७ दिनदेखि अनशनरत डा गोविन्द केसीले पत्रकार सम्मेलन गर्ने भएका छन् । डा केसीले अबको आन्दोलन कस्तो हुने भन्ने पत्रकार सम्मेलनमार्फत जानकारी गराउने छन् ।
“डा केसीलेआज साँझ पत्रकार सम्मेलन गर्नुहुनेछ,” डा केसीका सहयोगी प्रितम सुवेदीले भने, “अब कसरी अघि बढ्ने भन्ने उहाँले जानकारी गराउनुहुनेछ ।”
सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयक आँफूसँग सम्झौता गरेबमोजिम नभएको भन्दै सच्याउन माग राख्दै १७ दिनदेखि डा केसी अनसनमा छन् । आफ्ना माग सम्बोधन नगरी विगतमा गरेका सम्झौताविपरीत शुक्रबार संसदबाट विधेयक पास भएपछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसको विरोधको वाबजुद सत्तापक्षले शुक्रबार उक्त विधेयक संसदबाट पास गरेको थियो ।
डा केसी अहिले त्रिवि शिक्षण अस्पताल परिसरमा अनसन बसिरहेका छन् । उनको स्वास्थ्य निकै कमजोर भएको चिकित्सकहरुले बताउँदै आएका छन् । यस्तै, डा। केसीका निकट मानिएका डा अभिशेकराज सिंह पनि उनलाई भेट्न शिक्षण अस्पताल गएका छन् । डा। केसीसँगको छलफल पछि अब कसरी अघि बढ्ने भन्ने निर्णय लिइने उनले जनाए । “अहिलेसम्म डा।केसीको अनशन जारी छ,” उनले भने ।
आफ्नो १५ औँ अनसनमा सरकारले गरेको सम्झौताअनुसार नै विधेयक पारित गर्नुपर्नेलगायत माग राखेर डा।केसी अहिले १६ औँ अनशनमा छन् ।
यता, चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अब प्राडा गोविन्द केसीले अनशन तोड्नुपर्ने बताएका छन् ।
संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले २०६९ सालदेखि चिकित्सा शिक्षा सुधारमा उठ्दै आएको आवाजलाई यो विधेयकले सम्बोधन गर्न सफल भएको पनि जिकिर गरे ।
उनले भने, ‘डाक्टर केसीले उठाएका चिकित्सा शिक्षा सुधारका मुद्दाको जिम्मा लिन तयार छु । केसीले उठाएका राजनीतिक मुद्दाको जिम्मा लिन सक्दिनँ, ।’






प्रतिक्रिया