जितपुर । कपिलवस्तु वाणगङ्गा पिपरास्थित सरकारी अस्पतालबाट सुत्केरी भएका महिलाले साउनदेखि सुत्केरी भत्ता नै गायब भएको छ ।
साउनयता १८९ जनाले उक्त भत्ताबापतको रकम नपाएको बताइएको छ । सुत्केरी भत्ताको निकासा वाणगङ्गा नगरपालिकाले नगरेकाले भुक्तानी दिन नसकिएको अस्पतालको भनाइ छ ।
चालू आर्थिक वर्ष २०७५/०७६ साउनदेखि मङ्सिरसम्ममा अस्पतालबाट सुत्केरी भएका र नियमित गर्भजाँच गराएका १८९ महिलाले उक्त सुविधा लिन नपाएको अस्पतालका डा देवी श्रेष्ठले जानकारी दिए ।
तर, नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक कमल ज्ञवालीले सुत्केरी भत्ता समयमै निकासा भएर अस्पतालमै गएको दाबी गरेका छन् । सुत्केरी भत्ता भनेर स्थानीय सरकारले रु एक हजार र गर्भवती भएको चार पटकसम्म स्वास्थ्य संस्थामै जाँच गराएबापतको रु ८०० यातायात खर्चसहित रु एक हजार ८०० पाउने प्रावधान रहेको छ ।
सेवाग्राहीले वाणगङ्गा नगरपालिकाले उक्त सेवा सुविधा नदिएको बुझेका छन् । तर नगरका स्वास्थ्य शाखाका संयोजक ज्ञवालीले समयमै निकासा भएको बताएपछि सो रकम कहाँ गयो ? गम्भीर प्रश्न खडा भएको छ ।
साउन १ देखि नगरपालिकाले दिने भनिए पनि नगरपालिकाबाट उक्त सुविधा नदिएको पिपरा अस्पतालकी नर्सिङ इञ्चार्ज पुतला खनालले दाबी गरे । “अस्पतालमा आउने सुत्केरी महिलालाई नगरपालिकाले बजेट दिएको छैन भनेर पठाउने गरेका छौँ”, खनालले भने ।
अस्पतालको तथ्यांक अनुसार १८९ जना सुत्केरीले पाउनुपर्ने एक हजार ८०० का दरले हुन आउने रु तीन लाख ४० हजार २०० कहाँ गयो भन्नेबारे छानवीन पार्न नागरिक समाजले माग गरेको छ ।
उता नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञवालीले भने साउन १ गतेदेखि नै मासिकरुपमा निकासा दिएको दाबी गरेका छन् । पिपरा अस्पतालले परिवार नियोजनसम्बन्धी साधन, गर्भवती जाँचलगायतका सेवासुविधा उपलब्ध गराउँदै आइरहेको छ ।
गर्भवतीका समयमा पहिलोपटक चार महीनामा, दास्रोपटक छ महीनामा, तेस्रोपटक आठ महीनामा र चौथोपटक नौ महीनामा गरी कम्तीमा चारपटक जाँच गर्न आएमा ती महिलालाई यातायात र न्यानो कपडा एक सेट पाउने अधिकारबाट यस क्षेत्रका सुत्केरी महिला बञ्चित भएका छन् ।
साउनअघि भने सुत्केरी महिलालाई यो सुविधा दिने गरेको वाणगङ्गा नगरपालिका–२ पिपरा कपिलवस्तु, पिपरा अस्पतालकी नर्सिङ इञ्चार्ज खनालले जानकारी दिए । साउनदेखि नगरपालिकाले दिने भने पनि अहिलेसम्म सेवाबापतको रकम नदिएको उनले प्रष्ट्याए ।
गत वर्ष ०७४/०७५ मा २३० जना महिलाले यहाँबाट उक्त सुविधा लिएका थिए भने विसं २०६९ मा स्थापना भएको अस्पतालले सुत्केरी सुविधा दिँदै आइरहेको अस्पतालले जनाएको छ । अस्पतालमा प्रत्येक महीना कम्तीमा ४०–५० महिला स्वास्थ्य उपचार गराउन आउने गरेका छन् ।
प्रतिक्रिया