मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सञ्चारकर्मी रविले गरे निकितासँग अदालती बिहे

सञ्चारकर्मी रविले गरे निकितासँग अदालती बिहे


काठमाडौँ । नेपालका बहुचर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले सोमबार दिउँसो अदालती विवाह गरेका छन् । 
 
उनीहरुले कानुनबमोजिम काठमाडौँ जिल्ला अदालतमा विवाह गरेको रविले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । 
 
उनले फेसबुकमा स्टाटस लेख्दै व्यक्तिगत जीवनले नयाँ मोड लिएको बताएका छन् । एकअर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा कानुनीरुपमा काठमाडौँ जिल्ला अदालतमा विवाह दर्ता गरेको जनाएका छन् । 
 
उनले दुवैबीच मानसिक यातना नै हुनेगरी अनवरतरुपमा समाचार र खोजविन चलेपछि बिहे गर्ने निर्णय गरेको स्पष्ट पारेका छन् । एकअर्कालाई खाँचो परेको जनाएका छन् । 
 
उनले परम्परागतरुपमा आउँदो वैशाखमा विवाह गर्ने योजना बनाएका छन् । उनले भनेका छन्, ‘यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो । कसैको चर्चा, आलोचना, सुझाव, व्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नुहोला । हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ । हामी दुवैजना यो निर्णयबाट एकदमै खुसी छौँ । र, हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनका लागि शुभकामना मात्र चाहन्छौँ ।’
 
रवि र निकिता दुवैजना पारपाचुकेवाला जोडी हुन् । रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याएका थिए भने निकिताको सात वर्षअघि पारपाचुके भएको थियो । 
 
रविको पहिलो श्रीमतीसँग पारपाचुके र निकितासँगको सम्बन्धका कारण सामाजिक सञ्जाल तातेको थियो । मिडियामा चर्चासँगै रविबारे यसै विषयलाई लिएर अनेकन टिप्पणी पनि हुँदै आएका थिए । 
 
सोमबार अदालती बिहेसँगै रविबारे अनर्गल प्रलाप गर्नेहरुको बोल्ती बन्द भएको छ । उनलाई शुभकामना दिनेहरुको संख्या निकै बढेको छ ।