चितवन । मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माणका लागि नारायणगढका व्यवसायी तथा समाजसेवी प्रेमकुमार श्रेष्ठ र स्वर्गीय भगवानदास श्रेष्ठको नाममा रहेको ८ कठ्ठा जग्गादान गरिएको छ ।
नारायणगढको बेलचोकस्थित पूर्णकमल मार्गमा स्वर्गीय भगवानदास श्रेष्ठको नाममा रहेको ६ कठ्ठा र प्रेमकुमार श्रेष्ठको नाममा रहेको २ कठ्ठा जग्गा आश्रमको भवन निर्माणका लागि दान गरिएको हो ।
स्वर्गीय भगवानदास र प्रेमकुमार दाजुभाइ हुन् । भरतपुर महानगरपालिका ३ बेलचोकमा रहेको सो जग्गाको अहिलेको बजार मुख्य करिब २० करोड रुपैयाँ पर्छ ।
सो जग्गा यसअघि बाल अस्पताल निर्माणका लागि पूर्णकमल लायन बाल अस्पताललाई दान गरिएको थियो । भगवानदासको मृत्यु भैइसकेपछि सो ठाँउमा अस्पताल निर्माणको काम अधूरै रहेको थियो । अस्पताल निर्माणका लागि भवनको दुईतला निर्माणसमेत गरिएको छ ।
अस्पतालको जस्तै सेवा मानवसेवा आश्रममा पनि हुने भएकाले जग्गादान गरेको दाता प्रेमकुमार श्रेष्ठले बताए । मानवसेवा आश्रमको भवन निर्माण भएपछि स्वर्गीय भाइको सपनासमेत साकार हुने उनको विश्वास छ ।
सो जग्गामा निर्माण हुन लागेको भवनको एक कार्यक्रमबीच प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गरे । सो अवसरमा बोल्दै मन्त्री दुलालले सामाजिक सेवामा मानवसेवा आश्रमले सहयोग जुटाएर सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।
पछिल्लो समय देशभर सामाजिक काममा सबैको सकरात्मक भूमिका देखिएको भन्दै उनले प्रदेश नम्बर ३ सरकारले नीति तथा कार्यक्रममा मार्फत नै सामाजिक सुरक्षाको सुनिश्चितता गरेको बताए ।
सामाजिक सेवा सबैको अभियान भएकाले यस्ता गतिविधिलाई प्रदेश सरकारले सहयोग गर्ने उनको उद्घोष थियो । कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद विजय सुवेदीले सडकमा बस्न बाध्य अशक्तहरुको आफ्नै भवन बन्नु खुसीको कुरा भएको बताए ।
“राज्यले पनि गर्न नसकेको काम मानवसेवा आश्रमले गरेको छ”, उनले भने, “मानवसेवा गर्ने इच्छाशक्ति भएकाले मात्र यो काम गर्न सक्छन् ।”
उनले दीर्घकालीनरुपमा नै सडकपेटीमा बस्न बाध्य अशक्त तथा वृद्धवृद्धाको राज्यले नै जिम्मा लिनुपर्ने बताए । उनले मानवसेवा आश्रमको भवन निर्माणका लागी व्यक्तिगत २ लाख रुपैयाँ सहयोग गर्ने घोषणासमेत गरे ।
२०७२ साल मंसीर ७ गते स्थापना भएको मानवसेवा आश्रम चितवन शाखामा सडकपेटीबाट उद्धार गरिएका ६० जना वृद्धवृद्धा तथा अशक्तहरु रहेको जिल्ला संयोजक रुपा केसीले बताइन् ।
कार्यक्रममा समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भरतपुर महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया