चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनशनरत डा गोविन्द केसीका मागलाई सरकारले बेवास्ता गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले डा गोविन्द केसीका माग पूरा गर्न सरकार गम्भीर बन्नुपर्ने बताए ।
डा केसीका माग दूरदराजका जनतालाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ भन्ने रहेको भन्दै पौडेलले थपे, धेरैपटक भएका सम्झौता कार्यान्वयनमा सरकार उदासिन बनेको आरोप लगाए ।
जनतासँग जोडिएका कुरामा लापरबाही गरेर सविधानविपरीतका क्रियाकलापहरु भैरहेको उनको भनाइ छ ।
नेता पौडेलले काँग्रेससंँगको इतिहास जोडिएका दुई अस्पतालको खारेजीको तयारी गरेर सरकारले देशलाई कम्युनिष्टकरण गर्दै इतिहास बङग्याउने कोसिसमा लागेको आरोप लगाए ।
“सरकार शान्ति सुरक्षा प्रदान गर्न गम्भीर भएन’, उनले भने, वाइडबडी र सुनकाण्डले देशमा सुशासनमाथि व्यङ्ग्य भैरहेको छ ।’
भ्रष्ट्राचारकाण्डमा जोजस्को संलग्नता भए पनि सही छानबिन हुनुपर्ने नेता पौडेलको जोड थियो । सरकार दोषीलाई कारबाही गर्नेभन्दा ढाकछोपमा लागेको उनले जिकिर गरे ।
“सरकारले प्रदेशको राजधानी र नामाकरण सम्म गर्न सकेको छैन्’, पौडेलले भने,देशलाई संघीयताको बाटोमा सहीरुपमा कार्यान्वयनमा ल्याउन सकेको छैन् ।”
अर्को प्रसंगमा नेता पौडेलले पार्टीको महासमिति बैठकपछि धेरै विवादित कुराहरु समाधान भएको भन्दै केही कार्यशैलीमा अझै मतभेद रहेको बताए । नेविसंघको विवाद माघ १० गते पार्टीमा हुने छलफलपछि टुंगिने नेता पौडेलको भनाइ छ ।
प्रतिक्रिया