मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोइरालाद्वयका नामको अस्पताल विघटन गर्न लागेकोमा कांग्रेसको आपत्ति

कोइरालाद्वयका नामको अस्पताल विघटन गर्न लागेकोमा कांग्रेसको आपत्ति


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारले आफ्नो आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघटन गर्न खोजेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
 
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजधानीमा आकस्मिक पत्रकार सम्मेलन गरी सरकारले कांग्रेसका तत्कालीन सभापति एव पूर्वप्रधानमन्त्रीद्वय स्व गिरिजाप्रसाद कोइराला र स्व सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल विघटन गर्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति प्रकट गरेका हुन् । 
 
तत्कालीन सरकारले स्व गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा श्वासप्रश्वास र बाँकेमा स्व सुशील कोइरालाको नाममा क्यान्सर अपस्ताल खोल्ने निर्णय गरी दुवै अस्पताललाई मुलुककै प्रतिष्ठित र सुविधासम्पन्न बनाउने गरी विस्तारको प्रक्रिया अघि बढाएको थियो । 
 
मुलुकको शान्ति प्रक्रियाका नेतृत्वकर्ता स्व गिरिजाप्रसादको श्वासप्रश्वासबाट ग्रसित भई निधन भएको थियो भने संविधान जारी गर्दाताका सरकारको नेतृत्वकर्ता स्व सुशील कोइराला जीवनको उत्तराद्र्धमा क्यान्सरबाट पीडित थिए ।
 
दुवै नेताको स्मृतिमा अस्पताल खोल्न प्रक्रिया अघि बढाइसकेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका ११ ठूला अस्पताललाई संघीय सरकार मातहत रहने गरी गठन आदेशका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको आफूहरुलाई जानकारी आएको नेता पौडेलले दावी गरे । 
 
उनले भने, ‘तर मन्त्रिपरिषद् बैठकले कांग्रेसका दुवै नेताका नामका बाहेक नौ अस्पताललाई मात्र सदर गरी निर्णय ग¥यो र स्वास्थ्य मन्त्रालयले ती दुवै अस्पताल विघटनको प्रक्रियामा लगेको भन्ने हामीले आज खबर पायौँ ।’ 
सो खबर पाएलगत्तै कांग्रेस नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै भेट्न खोजेका थिए । सचिवालयले प्रधानमन्त्रीको व्यस्तताले भेटका लागि भोलिमात्रै समय उपलब्ध हुने खबर गरेको उनले सञ्चारकर्मीलाई जानकारी गराए । 
 
कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेर सरकारले दिन खोजेको सङ्केतप्रति कांग्रेस सशंकित भएको बताउँदै नेता पौडेलले भने, ‘अब हामी प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा छौँ, त्यसपछि सरकारको यही रबैया रह्यो र प्रतिपक्षीप्रति पक्षपातपूर्ण व्यहार गरे हामी कठोर कदम चाल्न बाध्य हुनेछौँ ।’
 
नेता पौडेलले कठोर कदमका रुपमा कांग्रेसले सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनीसमेत दिए । 
 
सञ्चारकर्मीको प्रश्नमा उनले नेपाल वायु सेवा निगमको वाइडबडी खरीद प्रक्रियामा देखिएको अनियमितताप्रति छानबिन हुनुपर्ने माग गरे । साथै उनले निर्मला हत्याकाण्डका दोषी पत्ता नलाग्नुका पछाडि घटनामा शक्तिशाली मान्छेको संलग्नता भएको हुनसक्ने आशंका व्यक्त गरे । 
 
सरकार शान्तिसुरक्षा र विकासमा असफल भएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले विकास निर्माणका सन्दर्भमा बनिसकेका अस्पताल विघटन गर्न खोजेर उल्टो बाटोमा हिँडेको बताए । कांग्रेस हालसम्म संयमित र जिम्मेवार प्रतिपक्षको भूमिकामा सरकारलाई बेलाबेलामा सचेत गराउँदै आएको बताउँदै उनले आफूहरुले सरकारलाई सुझाव दिँदै आएको भए पनि नसुनेको बताए । 
 
वरिष्ठ नेता पौडेलले भने, ‘अब हामीले टुलुटृुलु हेरेर बस्न नसक्ने अवस्था आयो, कांग्रे्रेसको अस्तित्वमाथिको हमलाका रुपमा हामीले यस घटनालाई लिएका छौँ ।’ 
 
चिकित्सा विधेयक पनि संसद्बाट बहुमतका आधारमा जबर्जस्ती पारित गर्न खोजिए प्रतिवाद गर्ने धारणा व्यक्त गर्दै उनले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए । मुलुकका दूरदराजमा अस्पताल खोल्ने कुरा सरकारले नमान्नु संविधान र समाजवादको भावनाविपरीत रहेको टिप्पणी गर्दै नेता पौडेलले कांग्रेसले यस्तो हुन नदिने स्पष्ट पारे ।