भरतपुर । समाजमा श्रीमतीको क्रिया बस्ने चलन बिरलै देख्न पाइन्छ । श्रीमतीको मृत्यु भएको एक महिना नबित्दै अर्की श्रीमती भित्र्याउने श्रीमान् समाजका लागि नौलो होइन । तर, नारायणगढका चिरपरिचित समाजसेवी एवम् व्यवसायी दिगम्बर पिया बिरलैमध्ये एक हुन् । उनी एक्लै दुःखमा सेतो वस्त्र धारण गरेर क्रिया बसिरहेका छन् ।
श्रीमती मर्दा क्रिया त परै जावस्, घाटमै पनि जान नहुने मान्यता अद्यापि चलिआएको छ । उनलाई पनि केही आफन्तले घाटमा नजान भनेका थिए । तर, त्यसको केही वास्ता नगरी उनी आफ्नी धर्मपत्नीको काजक्रियामा खटिएका छन् ।
उनले अग्निलाई साक्षी राख्दै सात फेरो लगाएको दिन सम्झँदै भने, ‘श्रीमतीको शव लिएर देवघाट पुगेँ र आफैँले दागबत्ती दिएँ । कपाल मुण्डन गरेर क्रिया बस्दैछु ।’ उनले श्रीमान्को मृत्यु हुँदा जसरी नै श्रीमतीको अन्तिम संस्कारका विधिहरु आफैँले गर्दैछन् ।
उनको कदमले समाज रुपान्तरणमा टेवा पुग्ने महिला अधिकारकर्मी मीना खरेल बताउँछिन् । उनी भन्छिन्, ‘श्रीमतीले श्रीमान्को क्रिया गर्नुपर्ने, श्रीमान्ले नपर्ने समाजले बनाएको विभेदकारी नियम हो । दिगम्बर पिया दाजुको कदम प्रशंसनीय छ ।’
दिगम्बरले भाउजूको काजक्रिया गरेर अन्तिम संस्कार आफैँले गरेर श्रीमान् श्रीमतीको साथी र सहयोगी हुन् भन्ने चरितार्थ गरेको खरेल बताउँछिन् ।
उद्योग वाणिज्य संघ चितवनका महिला संयोजक रजनी मास्केले पनि उमा भाउजूको क्रिया दाजुले नै गरेर सम्माननीय कार्य गरेको बताइन् ।
श्रीमान्ले श्रीमतीको काजक्रिया गरेको आफूले खासै थाहा नपाएको बताउँदै उनले समाजमा समानता कायम गर्न दाजुको कदम उल्लेखनीय रहेको प्रस्ट्याइन् ।

विगत आठ वर्षदेखि उमा जोशी पिया बिरामी थिइन् । उनको यही पुस १४ गते ५६ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । उनका एक छोरी छन् ।
परिवार नियोजन संघ चितवनको पूर्वसभापति रहेका केशव जोशी जीवनमा धेरै जनाको श्रीमतीको मलामी गए । तर, श्रीमान्ले नै श्रीमतीको दागबत्ती दिएको बल्ल देखे । र, श्रीमान्ले श्रीमतीको क्रिया बसेको पनि उनै पियालाई पाए । जोशी भन्छन्, ‘धेरैको मलामी गइयो तर श्रीमतीलाई दागबत्ती दिएको भने पहिलोपटक देखेँ ।’
परिवार नियोजन संघ चितवनका पूर्वउपसभापति तथा केन्द्रीय सदस्य, रोटरी क्लब अफ मिट टाउन नारायणीका पूर्वअध्यक्ष, पर्यटकीय तथा ऐतिहासिक नगरी बन्दीपुरस्थित होटल गाउँघरका सञ्चालक, नमस्ते नेपाल हेल्पिङ हिमालयका कन्ट्री डाइरेक्टरलगायत दर्जनौँ सामाजिक क्षेत्रमा पियाको संलग्नता रहेको छ ।
समाजका चिरपरिचित व्यक्तिहरुका यस्ता कदमले समाजमा सकारात्मक प्रभाव पार्ने पिया निवासमा उपस्थित शुभेच्छुकहरुको भनाइ थियो ।
प्रतिक्रिया