विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिदका दोषीलाई कानूनअनुसार कारबाही गर्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वाइड बडी विमान खरिद छानबिन संसदीय उपसमितिले कुनै मन्त्रीलाई कारबाहीको सिफारिश गरिएको विषयमा आफूलाई जानकारी नभएको प्रष्ट पारे ।
सभापति देउवाले उपसमितिले तयार पारेको प्रतिवेदन आफूले अध्ययन नगरेको र यस विषयमा विस्तृत केही भन्न नसक्ने उल्लेख गर्दै निर्मला पन्त्तको बलात्कारपछि हत्याका आरोपीलाई पक्राउ गर्न नसक्नु गृह प्रशासनको कमजोरी भएको धारणा व्यक्त गरे ।
प्रमाण मेटाएर नै अपाराधीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै उनले निर्मलाको परिवारले न्याय नपाएसम्म कांग्रेसले यो मुद्दालाई नछोड्ने प्रतिबद्धता व्यक्त गरे ।
एक प्रश्नको जवाफमा सभापति देउवाले काङ्ग्रेसको आगामी महाधिवेशन तोकिएको मितिमै हुने प्रष्ट पार्दै ‘अर्ली महाधिवेशन’सम्बन्धी कुरा कतैकतैबाट उठेको सम्बन्धमा जानकारी नभएको बताए ।
कर्मचारी अभावका कारण प्रदेश र स्थानीय तहमा जनताले सेवा र सुविधा प्राप्त गर्न नसेकर दुःख पाइएको बताउँदै उनले डर त्रासभन्दा पनि सेवा र सुविधा वृद्धि गरी कर्मचारीलाई कार्यक्षेत्रमा पठाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया