हेटौँडा । प्रदेश नं ३ सरकारले निश्चित दक्षता हासिल गरेका करीब २०० युवालाई स्वयंमसेवीको रुपमा परिचालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार यसै महिनाबाट स्वयंसेवक परिचालन शुरु हुन लागेको हो ।
यो कार्यक्रमले प्रदेशको कर्मचारी समस्यालाई केही हदसम्म भए पनि कम गर्ने भएको छ । स्वयंमसेवाको माध्यमबाट प्रदेशको सेवा प्रवाह तथा विकास निर्माणमा योगदान गराउन भन्दै सामाजिक विकास मन्त्रालयले मन्त्रिपरीषद्को स्वीकृति लिएर यस सम्बन्धी कार्यविधि निर्माण गरेको हो ।
कार्यविधिअनुसार स्वास्थ्य, समीक्षा, महिला, किशोरकिशोरी, खेलकूद, बालबालिका, ज्येष्ठ नागरिक सुरक्षा, कृषिसेवा, पशुसेवा, वन तथा जडीबुटी, वातावरण संरक्षण, प्राकृतिक प्रकोप जोखिम व्यवस्थापन लगायतको क्षेत्रमा स्वयंमसेवक परीचालन गरिने छ ।
मन्त्रालयका अनुसार ४० शिक्षक, नौ डाक्टर, नौ हेल्थ असिष्टेण्ट, नौ स्टाफ नर्स, चार अनमी, नौ फर्मासिस्ट तथा रेडियोग्राफर, १७ सडक मानव सहजकर्ता, १५ बालविवाहमुक्त अभियानकर्ता, ५२ खेल प्रशिक्षक, १६ कृषि प्राविधिक तथा १३ पशु प्राविधिकलाई स्वयंमसेवकको रुपमा परिचालन गरिने छ ।
स्वयंसेवकको सेवा सुविधा पनि कार्यविधिमा उल्लेख गरिएको छ । स्वयंसेवीलाई निर्वाह खर्च उपलब्ध गराइने मन्त्रालयका उपसचिव युवराज बगालेले बताए ।
देशमा बढ्दो बेरोजगारी तथा सरकारलाई आवश्यक पर्ने जनशक्ति अभाव भइरहेको अवस्थामा दुवै पक्षलाई लाभ हुने र प्रदेशको विकासमा पनि टेवा पुग्ने गरी प्रदेश विकास स्वयंसेवक परिचालन कार्यविधि २०७५ ल्याइएको ३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताएका छन् । स्वयंसेवक कार्यक्रमले जनताको विकासमा प्रत्यक्ष प्रभाव पार्नेसमेत उनले दाबी गरेका छन् ।
प्रतिक्रिया