काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले जनतासँग राष्ट्रिय एकता र मेलमिलाप गर्न चाहेको बताएका छन् ।
४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सोमबार कांग्रेस काठमाडौंले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले जनतासँग राष्ट्रिय एकता र मेलमिलाप गर्न चाहेको बताएका हुन् ।
‘राष्ट्रिय एकता र प्रजातन्त्रको खिलापमा हामी कहीँ पनि जान सक्दैनौं । प्रजातन्त्रको पक्षमा राष्ट्रिय एकता कायम गर्न कांग्रेसले अब जनतासँग मेलमिलाप गर्न चाहन्छौं, एकता गर्न चाहन्छौं,’
उनले नेकपा नेतृत्वको सरकार मुलुकमा तानाशाह लाद्ने प्रयास गरिरहेको दाबी गर्दै भने,‘जनताको अधिकार हनन् भइरहेका छन् । कर्मचारीका अधिकार खोसिँदैछन् । त्यस कारण अब हामी सबै एक हुनुपर्छ ।’
आफू प्रधानमन्त्री हुँदाको सरकारले ल्याएको कर्मचारीसम्बन्धी ऐनलाई सरकारले कर्मचारी संयन्त्रलाई आफ्नो नियन्त्रणमा राख्नका लागि तोडमरोड गरेको सभापति देउवाले आरोप लगाए ।
‘अस्ति मैले प्रधानमन्त्री हुँदा कर्मचारीको हकहितका लागि ल्याएको ऐन तोडमरोड गरेर सरकार कर्मचारीतन्त्रमा नियन्त्रण गर्न चाहन्छ,’ उनले भने, ‘ब्युरोक्रेसीमा कम्प्लिट कन्ट्रोल गर्न चाहन्छ । आज ब्यूरोक्रेसीलाई कम्प्लिट कन्ट्रोल गररे सरकारले उनीहरुलाई भोलि पार्टीको कन्ट्रोलमा लैजान खोजी रहेको छ ।’
सरकार स्वेच्छाचारीरुपमा अगाडि बढेको र उसले मेलमिलाप गर्नै नचाहेको जिकिर गर्दै सभापति देउवाले कांग्रेसले कर्मचारी र सुरक्षा संयन्त्रलाई कहिल्यै पनि आफ्नो पार्टीप्रति वफादार बनाउन नचाहेको स्पष्ट पारे ।
‘कमिटेड ब्युरोक्रेसी, कमिटेड पुलिस, कमिटेड आर्मी हामी बनाउन चाहँदैनौं । हामी पोलिटकल अफिलेसनमुक्त इण्डिपेण्ड जुरीसेरी, न्यूट्रल ब्यूरोक्रेसी, न्यूट्रल आर्मी चाहन्छौं,’
वर्तमान सरकारले कर्मचारीको भावनाविपरीत अध्यादेश ल्याएकोप्रति ईंगित गर्दै उनले भने, ‘तर आज सरकारले कर्मचारीलाई नियन्त्रण गर्न अध्यादेश ल्याएको छ । उसले गर्न खोजेको हस्तक्षेपले देशमा फेरि नेपाली जनताले आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ ।’
कांग्रेसका संस्थापन नेता बीपीको मेलमिलाप नीतिको सान्दर्भिकता आगामी दिनमा पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै देउवाले परिस्थितिअनुसार देशको राष्ट्रिय एकता अपरिहार्य रहेको बताए ।
उनले राष्ट्रिय एकताका लागि एक–आपसमा मेलमिलाप हुनु अत्यन्त जरुरी रहेको जिकिर गरेका छन् ।
यसैबीच, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्र स्वतन्त्रताको सुरक्षा गर्न एवम् गणतन्त्रलाई सुढृढीकरण गर्न रष्ट्रिय मेलमिलाप सार्थक भएको बताएका छन् ।
नेपाली काङ्ग्रेस मकवानपुरद्वारा ४९ औं राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले प्रतिपक्ष दल काङ्ग्रेससँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गरे । उनले जनतालाई आर्थिक समवृद्धितर्फ आत्मनिर्भर तुल्याउन सहकार्य आवश्यक रहेकामा जोड दिए ।
सो अवसरमा प्रदेशसभाका प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले मुलुकमा केही समूह विखण्डनका लागि तयार रहेका उल्लेख गर्दैै बीपीले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापबाट राष्ट्रको सार्वभौमको रक्षा र प्रजातन्त्रको सुढृढीकरणका लागि सबै दल एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।







प्रतिक्रिया