मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा भूकम्पपीडितका छ हजार परिवार अझै घरविहीन

चितवनमा भूकम्पपीडितका छ हजार परिवार अझै घरविहीन


चितवन । भूकम्पपछिको चौथो वर्षको जाडोमा पनि जिल्लाका पाँच हजार ९८४ परिवार अझै घरविहीन अवस्थामा छन् । विसं २०७२ वैशाखको भूकम्पले प्रभावित सात हजार ३३५ परिवारमध्ये एक हजार ३५१ परिवारको मात्रै घर निर्माण भएको छ । 
 
भूकम्पपछिको लामो समय बित्दा पनि घर निर्माण नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले यस वर्षको चिसो टहरामै बिताइरहनु परेको छ । भूकम्पले जिल्लाका पहाडी क्षेत्रका बासिन्दा बढी प्रभावित भएका र तीमध्ये अधिकांश चेपाङ समुदायका छन् । 
 
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन0 का इञ्जिनीयर सुवास न्यौपानेका अनुसार घर निर्माणका लागि पाँच हजार ७२१ जनाले पहिलो किस्तावापतको रु ५० हजार लगेकामा तिनीमध्ये तीन हजार ३४१ले रु एक लाख ५० हजारका दरले दोस्रो किस्ता लगेका छन् । 
 
दोस्रो किस्ता लगेकामध्ये घर निर्माण गरेका एक हजार ३५१ परिवारले थप रु एक लाखका दरले तेस्रो किस्ता लगेको उनले बताए । 
 
लामो समयसम्म घर निर्माण हुन नसक्नुमा कार्यालयको मात्रै भन्दा पनि स्वयं प्रभावित जिम्मेवार रहेको कर्मचारी बताउँछन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का निमित्त प्रमुख रामचन्द्र कोइरालाका अनुसार प्रभावितको आफ्नै जग्गा नहुनु, प्रथम किस्ता लिएर सम्पर्कमा नआउनु, घर बिक्री हुनु, थप अनुदान नलिने घोषणा गर्नुजस्ता कारणले समयमा सबै घर निर्माण हुन नसकेको हो । 
 
यसैगरी सम्बन्धित प्रभावित विदेश रहनु, श्रीमतीको नाममा जग्गा भई अन्तै विवाह गरी जानु, नक्सापास प्रक्रिया, स्वामित्व, नक्सा निर्माण विधिजस्ता झण्झटिलो कारणले पनि घर निर्माणमा समस्या भएको छ । 
 
प्राधिकरणकै प्राविधिकहरुले समयमा अनुगमन नगरिदिँदा पनि घर निर्माण हुनसकेका छैनन् । स्थानीय जनप्रतिनिधि आए पनि उनीहरुले चासो नदिँदा पुनःनिर्माणको काममा ढिलाइ भएको हो । 

शेयर गर्नुहोस:

0
Shares