दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनबाट नै पार्टीका पदाधिकारी निर्वाचित हुने भएकोले विगतमा जस्तो अब नातावाद, कृपावाद र निगाह नचल्ने बताएका छन् ।
महासमिति बैठक छाडेर आइतबार तनहुँको सत्यवती माध्यमिक विद्यालयको वार्षिकोत्सव उद्घाटन गर्न पुगेका पौडेलले नातावाद र कृपावादले पार्टीले क्षमतावान् कार्यकर्तालाई नेतृत्वमा नपुर्याएको बताएका हुन् ।
‘अब पार्टी र संगठनका लागि दुस्ख गरेका क्षमतावान् साथीहरू नेतृत्वमा जान पाउनुहुन्छ,’ पौडेलले पत्रकारहरूसँग भने, ‘नेताको निगाह र कृपा कुरिराख्नुपर्दैन ।’ कांग्रेसले बनाएको संघीय विधान विश्वका पार्टीहरूमध्ये उत्कृष्ट र नमूना भएको दाबी पौडेलको छ ।
‘पार्टीको तलदेखि माथिसम्मका निकाय समावेशी बनाइएको छ, निर्वाचित पनि,’ उनले भने ।
महासमिति बैठकले पार्टीभित्रका कमजोरीहरू पहिचान गर्न सहयोग पुर्याएको बताउँदै पौडेलले अब पार्टीलाई जनमुखी बनाउने पनि बताए। ‘महासमिति बैठकले हाम्रा कमजोरी चिरफार गर्यो र सुधारको बाटो देखायो,’ उनले भने । नयाँ विधान लागू भएपछि नेताको मनोमानी नचल्ने पनि उनले बताए ।
महासमिति बैठकमा सात सयभन्दा बढी सदस्यले पार्टी विधानमा र संविधानमा नै धार्मिक स्वतन्त्रता, हिन्दूराज्य लेख्न पहल गर्न माग गरी सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएको प्रसंगमा नेता पौडेलले भने, ‘धर्मको विषयमा कांग्रेस फस्न हुन्न ।’
प्रतिक्रिया