मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

कथा – नेताले देश बिगारे

कथा – नेताले देश बिगारे


‘केपीले देश डुबायो,
 
प्रचण्डले भ्रष्टाचारमा गिनिजबुकमा नाम राख्यो,
 
शेरबहादुरले कांग्रेस सिध्यायो !'
 
 
उसले एकाबिहानै फेसबुकमा स्टाटस हाल्यो । काउचमा बसेर लाइक र कमेन्ट गन्न थाल्यो ।
 
उसका स्टाटसहरू धेरैजसो मातृभूमिको राजनीतिसँग संबन्धित हुन्छन् । यदाकदा सामाजीक, अार्थिक विषयमा पनि लेख्छ उसले । तर नेताहरूका चरित्र, कृयाकलापप्रति उसले तिखो टिप्पणी गर्छ । उसको खरो र तिखो लेखाइलाइ मन पराउनेहरू पनि थुप्रै छन् । जसले फेसबुकमा उसलाइ साथी बन्न रिक्वेष्ट पठाउछन् । उ चिनेका, नचिनेका सबैका रिक्वेष्टलाइ स्विकार गरेर एसेप्ट गर्छ ।
 
‘बाबा स्कुल बस अाउने बेला भैसक्यो’ छोरा ढोकाबाट चिच्याउन थाल्यो । बिहान ८ बजे स्कुल बस अाइपुग्छ । स्कुल बसस्टपसम्म पुग्न ५ मिनेट हिँड्नुपर्छ ।
 
‘ढिला भएको छैन,’ छोरा तर्फ हेर्दै उसले जवाफ दियो ।
 
‘अँ, ढिला भैसक्यो भन्या । सुबलको ममी उसलाइ लिएर अघिनै जानुभएको । घडी हेर्नुस् त !’ अाधा खुलेको ढोकाको सँघारमै उभिएर छोराले भन्छ ।
 
विकल समय हेर्नको लागि देब्रे हातको नाडी उचाल्छ । तर नाडीमा अाज घडी छैन । एप्पल वाच फुटेर डाउनटाउनको एप्पलस्टोरमा छाडेको पनि एक हप्ता बितिसकेको छ । लुगा धुनको लागि दुइ हप्ता अघिको शनिबार अमिगो लण्ड्रीमा जाँदा ठोक्किएर एप्पलवाचको स्क्रिन फुटेको थियो । के गर्नु निशुल्क लुगाधुने ठाउँमा त्यही दिन ठेलमठेल हुन्छ । हतार गर्दा ढोकामा ठोकिएर घडीको स्क्रिन पुरै चिरिएको छ ।
 
‘जताततै भिकारीहरू छन् । सित्तैमा लुगा धुन पाइने भनेपछि त्यसलाइ हुत्तिएर अाउनु पर्ने ?' उ त्यो केटालाइ गाली गर्छ । लण्ड्रीमा पस्ने क्रममा त्यही हिस्पानिक केटाले ढोका घँचेट्दा उसको घडी फुटेको थियो ।
 
‘ए, घडी त छैन नि नाडीमा,’ भन्दै उसले भित्तेघडीमा नजर लगाउँछ । छोरासँग झर्केर भन्छ-­‘अझै तीन मिनेट बाँकी छ त । कति हतारिन्छ यो केटो पनि ? ल हिँड त अब ।’
 
‘मोबाइल धेरै नहेर्नुस् नि, लड्नुहोला,‘ भर्याङबाट झर्दै गर्दा छोराले भन्छ ।
 
बसस्टपसम्म जाँदैगर्दा पनि छोरासँग कुराकानी हुँदैन विकलको । मोबाइलमा अघि राखेको स्टाटसमा कति वटा लाइक अायो ? कतिले के के कमेन्ट गरे भनेर हेर्दैछ उ ।
 
‘साला, यो चाँही अरिङ्गालको प्युपा रहेछ । हेरन कमेन्ट गरेको-अमेरिकामा बसेर धाक दिँदै नेतालाइ गाली नगर् रे । तेरा बाउ !’ मनमनै त्यो कमेन्टकर्तालाइ सराप्छ ।
 
‘यो कुमारे र मेरो चाँही लाइन मिल्यो । शेरबहादुरले कांग्रेस सखाप पार्छ, अब शशांक दाइ अाउनुपर्छ । रामचन्द्र पाैडेल पनि लोभी र काम नलाग्ने छन् । अबको नेता शशांकनै हुन् । कुमारे र मेरो सोचाइ नमिल्ने त कुरै भएन नि ? सँगै पढेका साथी हो नि,’ मनमनै भन्यो उसले ।
 
‘अँ यस्ले चाँही अोलीलाइ दनक दिएछ । सोल्टी होटलमा चार रात बसेर होली वाइन पिएर क्रिश्चियनलाइ गुन लगाएको लेखेछ यस्ले चाँही,‘ स्टाटस हेर्दै गर्दा विकलको मुहारमा चमक अाउँछ ।
 
उसको ध्यान बाटोमा भन्दा पनि मोबाइलमै ज्यादा थियो । पाइला भुइँमा भएपनि ध्यान भने मोबाइलमै थियो ।
 
‘एेया…’ उ चिच्यायो । खुट्टा फुटपाथ भन्दा बाहिरको ढुङ्गामा ठोकिएछ । नोभेम्बरको बिहानी चिसोमा चप्पल लगाएको खुट्टाको नङ ढुङ्गामा ठोकिँदा उ पीडाले भुतुक्कै भयो ।
 
‘ल रगतै पो अएछ,’ छोरालाइ सुनायो ।
 
‘म अघिदेखिनै भन्दैछु मोबाइलमा नहेर्नुस् भनेर,’ छोराले जवाफ लगाउँछ ।
 
बाउछोराको भनाभन हुँदै गर्दा पर बसस्टपबाट स्कुल बस छुटेको देखिन्छ । ८ बजिसकेछ । बस छुट्यो ।
 
‘ल…, बस गयो त । एकैछिन त कुर्नुपर्छ नि,’ उ बर्बराउँछ-‘अमेरिकामा यही चाँहि नहुने क्या । एक मिनेट पनि नपर्खिने ।’
 
‘अब तपाइले लगिदिनुस् स्कुल । मैले ढिला भयो भनेर अघिनै भनेको होइन ?’ छोराले खुच्चिङको शैलीमा भन्छ ।
 
‘ल ल फर्किउँ अब । गाडीमै लगिदिनुपर्यो नि तँलाइ ।’
 
दुबै बाउछोरा फर्किन्छन् अपार्टमेन्टमा । अाफ्नो गाडी पार्किङ गरेको ठाउँनिर अाइपुग्छ विकल । तर उसले गाडीको चाबी बोकेको हुँदैन ।
 
‘तँ यही पख है । म गाडीको चाबी लिएर अाउँछु,’ उ अपार्टमेन्टमा जान भर्याङ उक्लिन्छ ।
 
चाबी लिएर बाहिर निस्कियो विकल । उसले परैबाट ढोका खोल्ने कि दबाउँछ र छोरालाइ भन्छ-‘गाडी भित्र बस् । बाहिर जाडो छ ।’
 
‘तँ त भाग्यमानी होस् नि । कार चढेर स्कुल जान पाउने भनेर खप्परमा लेख्या रहेछ नि । बस छुटेर त के भयो र ? मलाइ पो सास्ती !’ छोरालाइ सुनाउँछ-‘हाम्रा पालामा दुइ घण्टा हिँडेर भीरको बाटो हिँडेर स्कुल जानुपर्थ्यो ।’
 
गाडीमा चाबी घुसारेर उ स्टार्ट गर्छ । तर स्टार्ट हुँदैन । ‘ख्याँख्याँख्याँख्याँ….’ को अावाजमात्र अायो गाडीमा । गाडीले स्टार्टनै लिँदैन । अरूनै मेकानिकल खराबी हो वा ब्याट्रीको खराबीले हो गाडी स्टार्ट हुँदैन । उसले धेरै पटक प्रयास गर्छ ।
 
‘के भयो फेरि ? स्कुल जान ढिला भैसक्यो’ छोरा रून्चे स्वरमा चिच्याउँछ । एकातिर गाडी स्टार्ट नभैरहेको अवस्था, अर्कातिर छोराको किचकिचले विकललाइ रिस उठ्छ ।
 
‘पख्न पख् । जम्पर लगाउनुपर्ला जस्तो छ । बरू कोसँग होला जम्पर केबुल ?’ उ प्रश्न गर्छ । विचरो सात वर्षको छोरालाइ जम्परको के चासो ?
 
उ कारबाट बाहिर निस्कन्छ । गाडीको अघिल्तिरको हुड खोल्छ । ब्याट्रीसँग जोडिएको कनेक्सन तारलाइ यसोउसो मिलाएको जस्तो गर्छ ।
 
उसले जोडले कसेर व्याट्री माथि मुड्की बजार्छ । अनि यताउती कोही छ कि भनेर हेर्न थाल्छ ।
 
बिहानको चिसोमा को निस्कने र ? यो अपार्टमेन्टमा बस्नेहरू अधिकांश कि त बिहानैको सिफ्टमा कि त राति अबेरसम्म काम गर्नेहरू छन् । बिहान काममा जानेहरू ६ बजेनै निस्कन्छन् भने राति काम गर्नेहरू ९/१० बजेसम्म सुतिरहेका हुन्छन् ।
 
कोही गाडीवाला बाहिर निस्केका छन् कि भनेर उ परसम्म जान्छ । भरखरै न्यूयोर्कबाट बसाइ सरेर अएको हुँदा त्यति चिनजानका मानिसहरू पनि छैनन् अर्भिङमा।
 
पर पुगेर फर्कियो उ ।
 
‘साला, कवाडीनै गाडी भिडाएछ नि । किन असाध्यै मायाँ गर्यो भन्या त यस्तो खटारो तह लगाउन पो रहेछ । मान्छेका पनि अनेक रूप हुन्छन् । किनेको ६ महिना भएको छैन कहिले केले कहिले केले दुःख दिने पनि हुन्छ कँही ? उ गाडी बेच्नेलाइ गाली गर्न थाल्यो ।
 
‘नेपाल बिगार्ने नेता जस्तै रहेछ मलाइ गाडी भिडाउने पनि' गाडी बेच्नेलाइ पनि उ नेतासँगै तुलना गर्न थाल्छ । उ मनमनै थप्छ–‘देश बिगारेका त्यस्तैले हो ।'
 
काम चलिहाल्छ भनेर एकलाख ८० हजार माइल कुदेको निसानको अल्टिमा गाडीलाइ उसले २५ सय डलर तिरेको थियो । त्यो पनि एकजना नेपालीलाइ । एक वर्ष चल्यो भने त्यसलाइ एअरचेकमा हालेर नयाँ होण्डा सिअारभी किन्ने उसको योजना थियो । एअरचेकबाट तीनहजार डलर अाउँथ्यो ।
 
तर गाडी अहिलेनै थला पर्न थालिसक्यो । दुइ हप्ता अघि असाध्यै तातेर मेकानिकलाइ देखाएको एअर कण्डिसन, फ्यूल पम्पिङ, ब्रेकप्याड के के जाति फेर्नुपर्छ भनेर झण्डै दुइहजार डलरको इस्टिमेट देखाएको थियो ।
 
दुइ हप्ता अघि काममा जाँदै गर्दा हाइवे ११४ मा गाडी बन्द भएको थियो । बाटोमै गाडी बिग्रिएपछि काममा पुग्न ४५ मिनेट ढिला भयो । काममा ढिला अएको भन्दै सुपरभाइजर रिसायो । अर्को पटक बिना सूचना ढिला भएमा फायर हुने चेतावनी दिएको छ ।
 
उसले मनमनै भन्यो-‘साला नेताहरूले देश विगारे। नेताले देश नबिगारेको भए मैले यो काले सुपरभाइजरको गाली र चेतावनी सहनुपर्थ्यो ? नेपालमा भएको भए मैले यसलाइ जानेको थिएँ ।’
 
उ मनमनै मुरमुरिएको थियो त्यतिखेर ।
 
तर के गर्नु ? अमेरिकामा एक दिन काम गरेन भने महिनाको बजेटमा तलमाथि भैहाल्छ ।
 
उसको मन फेरि बिग्रिएर स्टार्ट नभएको गाडीमै अाइपुगेर ठोकिन्छ । ‘यो खटारोले मलाइ डुबाउने भयो,’ उ मनमनै सोच्दैछ ।
 
त्यतिनैखेर इन्टरनेट कम्पनी स्पेक्ट्रमको गाडी परबाट अाइरहेको उसले देख्यो । विकलले हात उठायो ।
 
स्पेक्ट्रमको गाडी रोकियो ।
 
‘ह्वाट्स गोइङ अन म्यान ?’ गाडीको सिसा खोलेर गोरेले सोध्यो । उसले भन्यो-‘अाइ ह्याभ प्रोब्लम अन माइ कार व्याट्री । कुड यु हेल्प मी ?’
 
गोरेहरू सामान्यतया सहयोगी हुन्छन् । उ गाडीबाट झर्यो। पछाडीबाट जम्पर केबुल निकाल्यो । अाफ्नो गाडीको व्याट्रीसँग जम्पर केबुल जोड्यो ।
 
‘गो अहेड म्यान । स्टार्ट योर कार’ गोरेले भन्यो ।
 
उ अाफ्नो गाडीमा बसेर चाबी घुमायो । गाडी तुरून्तै स्टार्ट भयो ।
 
उसले गोरेलाइ धन्यवाद दियो ।
 
ब्याट्री एकै छिन त तताउँनै पर्यो । नत्र फेरि बन्द हुने डर । उसले मोबाइलमा हेर्यो ८ बजेर २० मिनेर भैसकेछ । छोराको स्कुल ८:१५ मा सुरू भैसक्छ । स्कुल पुग्न कम्तिमा ५ मिनेट लाग्छ ।
 
जे त पर्ला भन्दै उसले गाडी पार्किङबाट निकाल्यो । अपार्टमेन्टबाट मुल सडकमा निस्केपछि स्कुल जान बाँयातर्फ मोडिनुपर्थ्यो ।
 
ट्राफिक लाइट रातो बलिरहेको थियो । गाडी रोक्यो यताउति हेर्यो उसले । सडकमा गाडीहरू थिएनन् ।
 
ढिला भैसक्यो । कति लामो रातो लाइट बलिरहन्छ ? उसले मनमनै सोच्यो । सोच्दासोच्दै फुत्त गाडी अघि बढायो । अलि पर पुग्दैथियो उ । तत्कालै रातो, सेतो, निलो लाइट पिलिलिलि….. पार्दै पुलिसको गाडीले उसलाइ पछ्याइहाल्यो ।
 
उसले रेडलाइट पार गरेको पुलिस अलि परैबाट देखिसकेछ । पुलिसले पुल अोभर गरेपछि गाडी साइड लगाएर रोक्नु अघि  उसको मुखबाट फुत्तै निस्कियो-‘साला नेताहरूले देश विगारे ।’ उसले अाफू अमेरिका अाउनुमा प्रमुख दोषी ठहर्यायो शेरबहादुर देउवा, रामचन्द्र पाैडेल, केपी अोली, माधबकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्डलाइ ।
 
बितिसकेका सुशील कोइरालालाइ पनि उसले मनमनै गाली गर्न बाँकी राखेन ।