काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।
काठमाडौंको शीतल निवासस्थित राष्ट्रपति कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका ९ पुरुष र ३ जना महिला गरी १२ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए ।
निर्मलाको न्यायका लागि भन्दै भेला भएका विद्यार्थीको समूहले प्रवेश निषेधाज्ञा तोड्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लगिएको उनले बताए ।
उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै हुनुहुन्थ्यो । उनीहरुकोे प्रदर्शनले सवारीमा अवरोध आउने भएकाले पनि नियन्त्रणमा लिइएको हो ।’
उनीहरुलाई अहिले वृत्तको हिरासतमा राखिएको जानकारी दिँदै डीएसपी प्रसाईले अलि केरकार गरेर केही समयमा छोडिने बताए ।
निर्मला पन्तका लागि न्यायको माग गर्दै विभिन्न चरणमा आन्दोलन जारी छ ।
प्रतिक्रिया