मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारको क्रियाकलापप्रति नेकपाका नेताले भने- नग्नताको राष्ट्रिय परेड

सरकारको क्रियाकलापप्रति नेकपाका नेताले भने- नग्नताको राष्ट्रिय परेड


काठमाडौँ । गत साता सुरु गरिएको सामाजिक सुरक्षा कोषको कार्यक्रममा प्रधानमन्त्रीको फोटो राखेर भड्किलो प्रचारप्रसार गरिएको र विवादित क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको कार्यक्रमको सहयोगी बनेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा नेताहरुले पार्टीभित्रैबाट सरकारी क्रियाकलापको आलोचना गरेका छन् ।
 
नेकपाकै नेताहरुले सार्वजनिकरुपमा यसको कडा टिप्पणी गरेका छन् । नेकपाकै नेता घनश्याम भुसालले सामाजिक सञ्जाल ट्विटरमार्फत यसको विरोध गरेका हुन् । उनले यसलाई नग्नताको राष्ट्रिय परेड भनेका छन् । 
 
प्रधानमन्त्री ओलीको भड्किलो प्रचारबारे नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत असन्तुष्ट छन् । उनले यसबारेमा सचिवालय बैठकमै कुरा राख्ने आश्वासन केही नेतालाई दिएको स्रोतले बतायो । 
 
भुसालले आइतबार ट्विट गर्दै भनेका छन्, ‘विगत केही दिनमा नेताहरुको सांस्कृतिक अर्धपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ ।’
 
नेकपाकै अर्का नेता भीम रावलले पनि यसअघि नै यसको विरोध गरिसकेका थिए । उनले पनि सामाजिक सञ्जालमा टिप्पणी गर्दै कुनै व्यक्ति र निजी संस्थाको निहीत स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न नमिल्ने बताएका थिए । 
 
‘कुनै पनि व्यक्ति र निजी संस्थाको निहीत स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नुपर्यो । शान्तिको नाममा सम्मेलन गर्नेहरुले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ । नभने सरकारले खोजेर भन्नुपर्छ’ उनको टिप्पणी थियो ।
 
विवादास्पद व्यक्तिलाई निम्त्याएर देशको अहितमा काम गरेको उनको टिप्पणी छ । देशभरका जनप्रतिनिधिलाई उर्दी जारी हुन थालेपछि बोल्न बाध्य भएको नेताहरु बताउँछन् । 
 
‘अहिले भएको गतिविधि गलत छ । देशको हितमा छैन । यसको सकारात्मक परिणाम आउनेवाला छैन’ एक नेताले भने । एसिया प्यासिफिक समिटका नाममा गरिएको कार्यक्रमको छानबिनको मागसमेत नेकपाभित्रै भएको छ ।