मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन दिन्नौँ : प्रहरी महानिरीक्षक

पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन दिन्नौँ : प्रहरी महानिरीक्षक


चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दीलगायत अवाञ्छित क्रियाकलाप हुन नदिने बताएका छन् । 
 
पर्यटकीय क्षेत्र सौराहामा क्षेत्रीय होटल सङ्घ चितवनले आयोजना गरेको ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रियामा उनले पर्यटन क्षेत्र शान्तिपूर्ण बनाउन प्रहरी प्रतिबद्ध रहेको बताए । 
 
शान्तिपूर्वक घुम्ने वातावरण निर्माण गर्न पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दी, लफङ्गा र अवाञ्छित गतिविधि नियन्त्रण गर्नेतर्फ सम्पूर्ण प्रहरीलाई सजग हुन उनले निर्देशन दिए । 
 
प्रहरी महानिरीक्षक खनालले पर्यटन क्षेत्रमा डिस्कोजस्ता नकारात्मक प्रभाव पर्ने गतिविधि सञ्चालन गर्न नहुने बताएका छन् । उनले पर्यटन क्षेत्रमा डिस्को सञ्चालन गर्न नदिने बताएका हुन् । 
 
‘डिस्कोले समाजमा नकारात्मक प्रभाव पारेको छ’, उनले भने, ‘तेस्रो पर्यटकीय गन्तव्यस्थल सौराहामा डिस्को सुहाउँदैन ।’ 
 
डिस्कोले सामाजिक परिवेश खल्बलिने भन्दै महानिरीक्षक खनालले यसलाई समाजले पनि तिरस्कार गर्नुपर्ने बताए । उनले पर्यटकीय नगरी सौराहाको सुरक्षाका लागि प्रहरी सधैँ तयार रहेको भन्दै सौराहामा आउने पर्यटकको सुरक्षाका लागि चौबिसै घन्टा प्रहरी परिचालित हुने बताए ।
 
उनले सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षाका लागि प्रहरीले योजना बनाएर काम गरेको बताए । 
 
‘सुरक्षा दिन सकेमात्र २० लाख पर्यटक भिœयाउन सकिन्छ’, उनले भने, ‘नेपाल प्रहरी पर्यंटकलाई सुरक्षा प्रदान गर्न सक्षम र तयार पनि छ ।’ 
 
महानिरीक्षक खनालले समाजमा शान्ति, सुरक्षा र अमनचयनको लागि प्रहरी कहीँकतै नचुक्ने बताए । उनले आपराधिक गतिविधि गर्नेसँग कहिल्यै पनि सम्झौता नगर्ने स्पष्ट पार्दै प्रहरीले सुरू गरेको समुदाय–प्रहरी साझेदारिता कार्यक्रमले समाजमा हुने विकृतिको अन्त्य गर्ने बताए ।
 
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सौराहाको पर्यटनलाई विश्वव्यापीकरण गर्नुपर्ने र त्यसका लागि नगरपालिकाले सहयोग गर्ने बताए । उनले रत्ननगर क्षेत्रका ट्राफिक प्रहरीको संख्या थप गर्न महानिरीक्षक खनालसँग आग्रह गरे । 
 
प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले चितवनको पर्यटन निकुञ्जसँग आश्रित रहेकाले यसको दायरा फराकिलो बनाउनुपर्ने बताए । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले सौराहाको पर्यटनलाई पूर्वमा मकवानपुर र पश्चिममा नवलपुरसम्म विस्तार गर्नुपर्ने बताए । 
 
क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले गत वर्ष एक लाख ५० हजार पर्यटक चितवन आएको भन्दै चितवन आउने ८० प्रतिशत पर्यटक सौराहा आउने बताए ।
 
संघले बछौली प्रहरी चौकीमा प्रहरी निरीक्षकसहितको दरबन्दी, स्तरोन्नति, जिप सफारीलाई कानुनी माध्यता दिलाउनका लागि पहल गरिदिन महानिरीक्षक खनाललाई आग्रह गरेको उनले बताए । 

शेयर गर्नुहोस:

0
Shares