काठमाडाैं । नेपालको दोस्रो ठूलो मिडिया हाउसलाइ व्यबसायी अजेयराज सुमार्गीले किन्ने प्रस्ताव गरेका छन् ।
नेपाली भाषामा नागरिक र अंग्रेजी भाषामा रिपब्लिका दैनिक लगायत अन्य केही प्रकाशन गर्दै अाएको नेपाल रिपब्लिक मिडियाको स्वामित्व बिक्रीको लागि मोलमोलाइ भएर अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ । यो मिडियाले न्यूयोर्क टाइम्सको अन्तर्राष्ट्रिय संस्करण समेत नेपालमा प्रकाशित गर्दै अाएको छ । यसका साथै साप्ताहिक ट्याबोलाइड शुक्रबार र पारिवारिक मासिक 'परिवार' पनि प्रकाशित गर्दै अाएको छ । नागरिकको रेडियो पनि छ ।
थाहाखबर प्रालि सञ्चालन गरिरहेका व्यबसायी सुमार्गीले नागरिक मिडिया किन्नका लागि निकै जोड गरेका छन् । थाहाखबर अनलाइन अहिले पनि नियमित छ । थाहा सञ्चारको रेडियो पनि छ । तर उनले अनलाइनभन्दा पनि ठूलो प्रभावमा पार्नसक्ने मिडियामा लगानी गर्ने क्रममा नागरिकतर्फ ध्यान केन्द्रित गरेका हुन् ।
सुमार्गीले ज्ञवालीसँग ५१ प्रतिशत शेयर माग गरेका थिए । तर विनोद ज्ञवालीले अाफूले शेयर नबेच्ने भन्दै किन्ने भए पुरै मिडिया किन्न प्रस्ताव गरेको बताइएको छ । ज्ञवाली रिपब्लिक मिडियाका प्रवन्ध निर्देशक हुन् ।
ज्ञवालीलेनै २ अर्ब रूपैयाँ मागेका छन् । यसपछि चार चरणमा कुराकानी भइसकेको स्रोतको दावी छ । 'कुरो धेरै पटक भैसक्यो, अन्तिममा कुनै व्यबधान भएन भने रिपब्लिक मिडियाको स्वामित्व पक्का फेरिनेछ,' स्रोतले भन्यो ।
नागरिक नेटवर्कलाइ अलग अाफैँसँग राखेर अन्य बाँकीलाइ भने बेच्न ज्ञवाली पनि तयार देखिएको बताइएको छ । अष्ट्रेलियाबाट पढेर केही वर्ष अघि फर्किएकी ज्ञवालीकी छोरी समृद्धिले अहिले नागरिक नेटवर्कलाइ हेर्दै अाएकी छिन्।
ठीक दश वर्ष अघि कान्तिपुरबाट अलग भएर ज्ञवालीले नेपाल रिपब्लिक मिडिया स्थापना गरेका थिए । कान्तिपुरका कैलाश सिरोहियासँग अलग हुँदा ज्ञवालीले ७५ करोड रूपैयाँ लिएर बाहिरिएका थिए । त्यसपछि रिपब्लिक मिडिया स्थापना गरेर सुरूमा नागरिक र रिपब्लिका दैनिक सञ्चालन भएको थियो ।
२५ वर्ष अघि हंगकंगबाट सामान अायात गरेर ज्ञवालीले बिक्री गर्थे । त्यसपछि गलैँचा व्यबसायमा हात हालेर निकै राम्रो कमाइ गरेका थिए । गलैँचाबाट कमाएको अाम्दानीले कैलाश सिरोहियासँग मिलेर श्याम गोयन्कासँग कान्तिपुर किनेका हुन् ।
कान्तिपुरबाट अलग भएपछि २०६६ बैशाख ११ बाट नागरिक र रिपब्लिका दैनिक स्थापना भएको हो ।
नागरिक र रिपब्लिकामा क्रमशः नारायण वाग्ले र अमित ढकाल सम्पादक थिए । हाल नागरिकमा गुणराज लुइटेल र रिपब्लिकामा सुवास घिमिरे सम्पादक छन् । त्यसको दुइवर्षपछि शुक्रबार साप्ताहिक सुरू भएको हो । शुक्रबार साप्ताहिकका संस्थापक सम्पादक किशोर नेपाल हुन् । किशोर पछि नागरिककै सम्पादक भए ।
नागरिकको रेडियोको प्रमुख भने श्रीराम पाैडेलले छन् । ज्ञवालीले गत बैशाखमा अायोजित वार्षिकोत्सवमा अाफूले रिटायर्ड लिने मनस्थिति बनाएको बताएका थिए ।
विगत चारवर्षदेखि नाफामा भएपनि अहिले सुमार्गीबाट राम्रो प्रस्ताव अाएकाले बेच्ने सोचमा ज्ञवाली पनि पुगेका छन् । बैंकहरूका केही ऋण तिरेर बाँकी रकमले अानन्दले जीवनयापन गर्न पुग्ने भएकाले बेच्ने तयारीमा उनी छन् । तर पत्नी शोभा र छोरी समृद्धि भने बेच्न नहुने अडानमा छन् । छोरीकै लागि भनेर नागरिक नेटवर्क नबेच्ने गरि मनाउन लागेको बताइएको छ ।
नेपाली मिडियाबाट पेलाइमा पर्दै अाएका सुमार्गी बलियो र स्थापित मिडिया किनेर अाफ्ना अन्य योजनाहरू सहजताका साथ अघि बढाउने दाउमा छन् । नेपाली मिडियामै समाचार, सम्पादकीय, लेखहरू लगातार अाएकै कारण राष्ट्र बैंकले विदेशबाट ल्याएको रकम लामो समय रोकेर राखेको बुझाइ सुमार्गीको छ ।
ठूलो मिडिया लिएर त्यसैमार्फत सरकारलाइ निकायमा दवाव दिने तयारी उनको रहेको छ । जसका कारण मिडिया हाउसमा दोस्रो ठूलो रहेको नागरिक उनको रोजाइमा परेको हुनसक्ने अनुमान छ ।
सुमार्गीले विदेशबाट भित्राएको २२ अर्ब अवैध भन्दै सञ्चार माध्यमहरूले लगातार समाचार लेख्दै अाएका थिए । समाचारकै कारण लामो समयसम्म रोकिएको थियो ।
सुमार्गी र कान्तिपुर मिडियाका बीचमा पनि बेलाबखतमा विवाद हुने गरेको छ । सुमार्गीले यो विवादमा सिरोहियासँग किनेको जग्गाको प्रसङ्ग ल्याउने गरेका छन् भने कान्तिपुरले २२ अर्बको स्रोतको कुरा उठाउँदै अाएको छ ।
प्रतिक्रिया