मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका भूकम्पपीडितको टहरोमै बास

चितवनका भूकम्पपीडितको टहरोमै बास


स्यामराङ, चितवन । ६४ वर्षीया नरमाया चेपाङको परिवारमा १६ सदस्य छन् । २०७२ सालको महाभूकम्पले घर भत्काएपछि उनीहरू अहिलेसम्म पनि टहरोमै बास छ । 
 
तीनवटा जाडो टहरोमै कटाइसकेका उनीहरूले यो वर्षको जाडो पनि टहरोकै चिसोमा बित्ने पक्का छ । उनीहरुले अहिलेसम्म सरकारले उपलब्ध गराएको पहिलो किस्ता बराबरको ५० हजार रूपैयाँबाहेक राहत बुझेका छैनन् । आर्थिक स्थिति कमजोर हुँदा आफँैले घर बनाउन सक्ने स्थिति पनि छैन । त्यसैले अहिलेसम्म चर्किएको भित्तोमा टिनको छानो हालेर बस्न बाध्य भएको उनले बताइन् । 
 
‘पहिलो किस्ताबाट पाएको रकमले टिन हालेर यतिको बनाइयो,’ उनले भनिन् । तीनवर्षको जाडो टहरोमै बिताएकी उनी थप्छिन्, ‘यो वर्षको जाडो कसरी कटाउने होला भन्दाभन्दै तीनवर्षको जाडो कटाइयो । यो वर्षको जाडो पनि यसैगरी बित्ने भयो ।’ 
 
जिल्लाकै सबैभन्दा विकट चेपाङ बस्ती स्यामराङका भूकम्पपीडितमध्ये अहिलेसम्म ५ घरले मात्रै दोस्रो किस्ता बुझेका छन् । दोस्रो किस्ता बुझेकाहरूको पनि पुनर्निर्माण सम्पन्न हुन नसक्दा अहिलेसम्म टहरोमै बस्न बाध्य छन् । 
 
पहिलो किस्तामात्रै लिनेको अवस्था ‘हात्तीको मुखमा जिरा’ भनेजस्तो मात्रै भएको पीडितको भनाइ छ । स्थानीय रामहरि चेपाङ भन्छन्, ‘बल्लबल्ल दोस्रो किस्ता बुझियो । अब तेस्रो किस्ता कसरी बुझ्ने हो थाहा छैन ।’ 
 
काम पूरा नगरेसम्म तेस्रो किस्ता नपाइने हुँदा अर्को समस्या थपिएको उनको भनाइ छ । आफूखुसी घर बनाए प्राधिकरणले राहत रकम नै नदिने हुँदा दोहोरो मारमा परेको उनले बताए । 
 
‘आफ्नै तरिकाले घर बनाउन पाएको भए अहिलेसम्म तयार हुन्थ्यो,’ उनले दुखेसो पोखे– ‘सरकारले भनेअनुसार काम गर्दा न त समयमै किस्ता पाइन्छ, न त निर्माण पूरा गर्ने पैसा नै आफूसँग छ । त्यसैले दोहोरो समस्यामा छौँ हामी ।’
 
उनका अनुसार ८५ घरधुरी रहेको स्यामराङमा ४७ घरधुरी भूकम्पले भत्काएको थियो । तर, सबैको आर्थिक अवस्था अत्यन्तै कमजोर हुँदा अहिलेसम्म सामान्य जग उठाउनसमेत नसकिएको उनी बताउँछन् । 
 
सामान ढुवानीको लागि पनि बजार क्षेत्रबाट टाढा रहेकोले झनै समस्या भएको उनको भनाइ छ । अहिलेसम्म विकासका पूर्वाधार के हो भन्ने महसुस नै गर्न नपाएका स्यामराङवासीलाई भूकम्पले पु¥याएको क्षतिबाट झनै पछाडि पारिएको दुङबाङ राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक अतिबल चेपाङले बताए । 
 
सरकारले भनेजस्तो संरचना निर्माण गर्नको लागि सामानको मूल्यभन्दा ढुवानी खर्च बढी लाग्ने हुँदा सरकारी राहतले कुखुरालाई कनिका छरेजस्तो मात्रै भएको उनले बताए । 
 
‘राहत पाएकाले पनि पायो भन्नुमात्रै हो,’ उनले भने, ‘ढुवानी खर्चले गर्दा सोचेको जस्तो काम गर्न पाइँदैन ।’ यो गाउँ अहिलेसम्म पनि सडक सुविधाबाट वञ्चित भएकै कारण मान्छे लगाएरै सामान बोक्नुपर्ने बाध्यता छ । जसले गर्दा गाउँलाई आवश्यक पर्ने बजारी सामानको ढुवानी खर्च बढी पर्ने उनको भनाइ छ । 
 
‘कालीटारबाट सडकको ट्रयाक खन्ने कुरा भए पनि विभिन्न कारणले रोकिएको छ,’ उनले भने, ‘स्थानीय जनप्रतिनिधिले यसबारे ध्यान दिएर बेलैमा सडक सञ्जाल गाउँसम्म ल्याउन सके बजारसम्म जानआउनको लागि केही सहज हुने थियो ।’