मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

फेरि बढ्यो विप्लव माओवादीको चन्दा आतंक

फेरि बढ्यो विप्लव माओवादीको चन्दा आतंक


भरतपुर । केन्द्रीय राजधानी काठमाडौंमा मंसिर ८ गते हुने सभाको लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यतिबेला धमाधम चन्दा उठाइरहेको छ । 
 
यसअघि चन्दा संकलनको स्थायी स्रोत व्यापारी, उद्योगपति, पूँजीपतिहरु रहकोमा यसपटक भने जनप्रतिनिधिलाई पनि विप्लव माओवादीले छाडेको छैनन् । असुरक्षाको कारण देखाउँदै कतिपय वडाअध्यक्षले चन्दा दिइसकेका छन् भने केहीले सम्बन्धित पार्टीमा कुरा पु¥याएका छन् ।  
 
भरतपुर महानगरका एक वडाध्यक्षले सुरक्षाका कारण देखाउँदै नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हामीलाई लिखितरुपमै चिठी आएको छ, बारम्बार मौखिकरुपमा फोनबाट धम्कीमा पैसा मागिएको छ ।’ केही वडाध्यक्षहरुले भने १० हजार, १५ हजार र २० हजार रुपैयाँसम्म चन्दा दिएका छन् । 
 
‘असुरक्षित भइने डरले सहयोग गर्न बाध्य भएका हौं’ विप्लव पार्टीलाई चन्दा सहयोग गरेका एक वडाध्यक्षले भने, ‘चन्दा नदिँदा त्रास र असुरक्षा मात्र हुने भएपछि दिन बाध्य भएँ ।’
 
स्थानीय तहका प्रमुख उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुसँग पनि रकम माग गरिएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले व्यवसायीहरुलाई रकम तोकेर नै चन्दा माग भएको भन्दै यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए ।
 
चन्दा वा सहयोग भनेको स्वेच्छिक हुने भन्दै अध्यक्ष प्रधानले भने, ‘फेरि पुरानै अवस्थामा व्यापारीहरु पुग्ने र व्यापार क्षेत्र थप त्रसित हुने हो कि भन्ने डर लागिरहेको छ ।’ चन्दा माग्ने समूहलाई पनि आफूहरुले करकाप नगरिदिन आग्रह गरेको उनले बताए ।
 
विप्लव माओवादी चितवका सेक्रेटरी धु्रवले पार्टीको जबर्जस्ती सहयोग वा चन्दा माग्ने नीति यसपटक नरहेको बताए । स्वेच्छिक सहयोगका लागि आग्रह गरिएको उनको भनाइ थियो । सहयोग गर्न मन हुनेले दिने र सहयोग गर्न मन नहुनेले नदिँदा पनि हुने उनले बताए । कसैले सहयोग गरे वा नगरेको विषयमा भविष्यमा कसैमाथि कुनै असुरक्षाको गतिविधि पार्टीबाट नगरिने उनले बताए ।  
 
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते संघीय राजधानीमा जनसभा गर्न भएको छ । सो सभामा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सम्बोधन गर्ने भएका छन् । 
राज्य पक्षले पक्राउ गर्न सक्ने सूचना पाएपछि उक्त कार्यक्रममा महासचिव विप्लव भने नआउने भएका छन् । नेकपाले यसअघि विप्लवलाई संघीय राजधानीमा उतारेर शक्ति प्रदर्शनको तयारी गरेको थियो ।
 
तर, अन्तिम समयमा आएर नेकपाका प्रवक्ता प्रकाण्ड र स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनसहितको उपस्थितिमा आइतबार काठमाडौँमा भएको बैठकले महासचिव विप्लवलाई उपस्थित नगराउने निर्णय गरेको हो । 

शेयर गर्नुहोस:

0
Shares