धादिङ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–४ गौंथलेमा एकल वृद्वालाई बोक्सीको आरोपमा मलमुत्र खुवाई निर्घात कुटपिट गरिएको छ ।
६७ वर्षीया सेती माया मगरलाई मानसिक तथा शारीरिक यातना दिने चार जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको छ ।
पीडित परिवारका अनुसार वृद्धा महिलालाई गत कार्तिक २८ गते साँझ ७ बजे बोक्सी आरोपमा मलमुत्र खुवाई निर्घात कुटपिट भएको हो । कुटपिट गर्नेहरुमा ४५ वर्षीय हर्कबहादुर पुलामी, ६३ वर्षीय खोलबहादुर पुलामी र ५५ वर्षीय थमबहादुर मगरका साथै नेपाली सेनाको पूर्वी पृतना राजदल गणमा कार्यरत धनबहादुर मगर रहेका छन् ।
तिहार मनाउन घर बिदामा आएका मगरले आफूलाई मुटु दुखेको र वृद्धा मगरले बोक्सी बनेर मुटु खान खोजेको भन्दै आरोप लगाएर मरणासन्न हुने गरी कुटपिट गरेको आरोप पीडित परिवारले लगाएका छन् । झाँक्री काम गर्ने अरु तीन जनालाई बोलाएर वोक्सी हो भन्न लगाई कुटपिट गर्दै मलमुत्र खुवाएको समेत पीडित परिवारले बताए ।
एकल वृद्धा महिलालाई बोक्सीको आरोपमा मानसिक तथा शारीरिक यातना दिने कार्यमा संलग्न भएका चारै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धानका लागि पक्राउ गरेको छ ।
कुटपिटबाट गम्भीर घाइते भएकी वृद्धालाई जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँको स्टार अस्पतालमा भर्ना गरिएको छ । पीडित वृद्धाकी नातिनी जुना मगर पौडेलले बोक्सीको आरोपमा कुटपिट गर्ने मुख्य योजनाकारका रुपमा सेनाका जवान रहेको र उनको योजनामा कुटपिट र मलमुत्र खुवाउने काम भएको आरोप लगाएकी छन् ।
घटनामा संलग्न सेनाका जवान मगर सुरूमा भागेका थिए । गाउँले र प्रहरीको सक्रियतामा उनलाई घटना भएको केहीबेरमै पक्राउ गरिएको हो । पीडित परिवारका अनुसार घाइतेलाई गोबर र दुवोसमेत खुवाइएको उनका आफन्तहरुले आरोप लगाएका छन् । घटनाका विषयमा आरोपितहरुलाई थुनामा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।







प्रतिक्रिया