मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार प्रतिबद्धताबाट बाहिर गएको छैन : मन्त्री अधिकारी

सरकार प्रतिबद्धताबाट बाहिर गएको छैन : मन्त्री अधिकारी


पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा गरिएका प्रतिबद्धताबाट बाहिर नगएको बताएका छन् । 
 
भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा पोखरा–३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयमा निर्मित १२ कोठे पक्की भवनको उद्घाटन गर्दै उनले जनचाहना अनुरुप सुव्यवस्थाका साथै तीनवटै सरकारको समन्वयका माध्यमबाट आर्थिक समृद्धि र विकासको लक्ष्यमा सरकार लागेको बताए । 
 
देश लामो समयसम्म राजनीतिक अस्थिरता एवं सङ्क्रमणमा रुमल्लिएको बताउँदै उनले वर्तमान स्थिर एवं दीर्घकालीन सरकार क्षणिकतामा अलमल नगरी अघि बढ्नेमा जोड दिए । 
 
भारत सरकारबाट विद्यालय भवन निर्माणका लागि प्राप्त सहयोग यहाँका विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने विश्वास उनले व्यक्त गरे । 
 
विद्यालयले प्रस्ताव गर्दै आएको प्राविधिक शिक्षा कार्यक्रम आगामी शैक्षिक वर्षदेखि सञ्चालन गराउनका लागि आफूले पहल गरिरहेको मन्त्री अधिकारीले जानकारी दिए । 
 
भारतीय राजदूतावासका उपप्रमुख डा अजय कुमारले भारत सरकारले नेपालको शिक्षालगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने बताए । 
विद्यालयको भवन निर्माणसँगै यस क्षेत्रका बालबालिकाको भविष्य निर्माण समेत भइरहेकोमा उहाँको जोड छ । 
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रतिबद्ध भएको बताउँदै विद्यालयमा अङ्ग्रेजी तथा नेपाली दुबै माध्यम गरी हाल एक हजार ९६ जना विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिए । नवनिर्मित भवन रु तीन करोड ६३ लाख २५ हजार ९भ्याटबाहेक०मा निर्माण सम्पन्न भएको जनाइएको छ । 
 
प्रधानाध्यापक लालप्रसाद भण्डारीले नवनिर्मित भवनबाट विद्यालयको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
 
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्री, प्रदेशसभा सदस्य कृष्ण थापा, जिल्ला समन्वय अधिकारी डिल्लीराम सिग्देल, वडा अध्यक्ष शिवप्रसाद आचार्यले आ–आफ्ना धारणा राखेका थिए । रासस