मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विकासका लागि हातेमालो गरौँ : महामन्त्री शशांक

विकासका लागि हातेमालो गरौँ : महामन्त्री शशांक


नवलपुर । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा। शशांक कोइरालाले नवलपुर जिल्लाको विकासमा सबै दल, सरकारी तथा गैरसरकारी संघसंस्थालाई हातेमालो गरेर अगाडि बढ्न आग्रह गरेका छन् । 
 
शुक्रबार रजहरस्थित सिजी धाममा आयोजित ‘नमुना नवलपुर जिल्ला विकास योजना परिकल्पना दस्तावेज’ लोकार्पण कार्यक्रममा बोल्दै नेता कोइरालाले नवलपुर जिल्लाको समग्र खाका तयार भइसकेकाले यसलाई कार्यान्वयनको पाटोमा लैजान सबैको साथ र सहयोग उत्तिकै आवश्यक पर्ने बताएका हुन् । 
 
‘जनताको चाहनाअनुसार जिल्ला त टुक्र्यायौँ, अब विकास कसरी गर्ने भन्ने चुनौती थपिएको छ’, उनले भने, ‘त्यसैले, चुनावका बेला प्रतिस्पर्धीका रुपमा उभिए पनि समग्र जिल्लाको विकासमा सबै दल एकै ठाउँमा उभिनुपर्ने बेला आएको छ ।’
 
तीनपटक एउटै क्षेत्रबाट निर्वाचन लडेको प्रसंग कोट्याउँदै उनले थपे, ‘मैले तीनपटकसम्म यही क्षेत्रबाट निर्वाचन लड्दै गर्दा जिल्लाको विकास योजनाको दस्तावेज किन ल्याउन सकिनँ भन्ने महसुस भइरहेको छ । तर, ढिलै भए पनि खाका तयार भइसकेकाले अब दायाँबायाँ केही नसोची विकासको बाटोतर्फ लम्किनुपर्छ, किनकि यही नै नवलपुर जिल्लामा भएको विकासको सुरूवात हो ।’ 
 
प्रतिनिधिसभा सदस्य तिलक महतले कृषि, पर्यटन र उद्योगको माध्यमबाट जिल्लालाई विकासको चुलीमा पु¥याउन सकिने हुँदा काममा ढिलाइ गर्न नहुने बताए ।
 
‘नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग हाम्रै जिल्लामा छ’, उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको जिल्ला भएकोले पर्यटन विकासमा पनि प्रचुर सम्भावना छ र कृषि क्षेत्रमा पनि नवलपुर जिल्ला धेरै नै अगाडि छ । यी तीनवटा क्षेत्रलाई समेटेर लैजान सके विकासले गति लिन सक्छ ।’ 
 
चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद् विनोद चौधरीले राष्ट्रिय योजना आयोगले केन्द्रीयस्तरमा देश विकासको योजना तयार पारे पनि ती योजनामा जिल्लाको विकास योजनालाई एकीकृतरुपमा प्रस्तुत गर्न नसकिएको भन्दै त्यसलाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने औँल्याए ।
 
सांसद् चौधरीले देशकै प्रसिद्ध पर्यटन तथा धार्मिक क्षेत्रसँगै सिमाना जोडिएको जिल्ला भएकोले नवलपुर जिल्लाको विकास गर्न गाह्रो नभएको तर्क प्रस्तुत गरे । 
 
जिल्ला समन्वय परिषद् नवलपुर, सहमति संस्था र चौधरी ग्रुपको संयुक्त आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले, प्रतिनिधिसभा सदस्य सत्यनारायण शर्मा खनाल, नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली, विष्णुप्रसाद लामिछानेलगायतले पनि जिल्लाको विकासबारे मन्तव्य राखेका थिए ।