काठमाडौँ । काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्दै आएका कांग्रेसका नेताहरु देउवाविरुद्धको मोर्चाबन्दीका लागि सुजाता निवासमा छुट्टै बैठक गरेका छन् ।
नेविसंघको विधान, महासमिति बैठक, विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित लगायतका निर्णयमा सभापति देउवाले आफूखुसी गरेको भन्दै असन्तुष्ट देउवा इतरका नेताहरुले सोमबार बैठक नै बसेर देउवाविरुद्ध मोर्चाबन्दी कडा बनाउने निर्णय गरेका हुन् ।
कांग्रेस नेतृ सुजाता कोइरालाको घरमा सोमबार बिहान बसेको उक्त लन्चसहितको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला र डा रामशरण महत सहभागी भएका थिए ।
बैठकमा खासगरी सभापति देउवाले गत साता नेता विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेर विधान र प्रक्रिया विपरीत गएको सम्बन्धमा सबै नेताहरु एकमत भएको कांग्रेस नेताले जानकारी दिए ।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गर्न थालेकाले त्यसको सशक्त प्रतिरोध गर्न आवाश्यक भएको निष्कर्ष निकालेको बताए ।
उनले भने, ‘पार्टीका निर्णयहरु संस्थागत हुन सकेनन् । जसले समग्र कांग्रेसको छवि नै बिग्रन थालेको तथा विधि र प्रकृया विपरीत सभापति देउवा जान थालेकाले सामूहिक रुपले अगाडि बढ्ने विषयमा प्रारम्भिक छलफल भयो ।’
नेता केसीका अनुसार सभापतिका पछिल्ला निर्णयहरुले प्रजातान्त्रिक पद्धतिसमेत तोड्ने काम भएकाले त्यसबारे आगामी दिनमा छलफल गर्दै अघि बढ्न सात नेताहरु सहमत भएका हुन् । यसअघि गच्छदारलाई उपसभापतिमा मनोनित गर्दा विधि र प्रकृया मिचेर गरेको भन्दै कांग्रेसका युवा नेता गगन थापाले त्यसको सशक्त प्रतिकार गर्ने घोषणा गरेका थिए ।
प्रतिक्रिया