मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुख्यमन्त्रीसँग मुख लाग्दा मन्त्री स्थापित पदमुक्त

मुख्यमन्त्रीसँग मुख लाग्दा मन्त्री स्थापित पदमुक्त


हेटौँडा । ३ नम्बर प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले पदमुक्त गरेका छन् । बुधबार भएको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्रीसँग विवाद र अभद्र व्यवहार गरेपछि स्थापित बर्खास्त भएका हुन् ।
 
स्थापित संविधानको धारा १६९ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम शुक्रबार पदमुक्त भएका हुन् । खाली भएको मन्त्रालय मुख्यमन्त्री पौडेलले आफैँसँग राखेको स्वकीय सचिव अनुप पौडेलले जानकारी दिएका छन् । रिक्त मन्त्री पदमा कसलाईं नियुक्त गर्ने भनेर पछि छलफल हुने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । 
 
प्रदेशका योजनाहरुको सबैभन्दा बढी बजेट भएको मन्त्रालयको प्रगति नभएको भन्दै मुख्यमन्त्री स्थापितप्रति असन्तुष्ट रहँदै आएका थिए ।
 
त्यसो त, प्रदेश सरकार गठन भएदेखि नै स्थापित मुख्यमन्त्रीप्रति नकारात्मक रहँदै आएका थिए । स्थापितले मुख्यमन्त्री पौडेललाई सार्वजनिक स्थानमा समेत अपमान गरेपछि हटाउने अनुमतिका लागि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेको बताइएको छ । 
 
छलफलका लागि मुख्यमन्त्री पौडेलसहित आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल पनि काठमाडौँ गएका थिए । मह¤वपूर्ण मन्त्रालय सम्हालेका स्थापितले काम गर्ने मनस्थिति नदेखाएपछि प्रदेश सरकार नै असफल हुने भन्दै मुख्यमन्त्रीले स्थापितसँग काम नगर्ने बताएको स्रोतले जनाएको छ । पदमुक्त भएका स्थापितले आफूलाई औपचारिक जानकारी नभएको बताएका छन् । 
 
चीन भ्रमण जाने तयारी गरेका मन्त्री केशव स्थापित पदमुक्त भएसँगै भ्रमण अनिश्चित भएको छ । मन्त्रीपदबाट बर्खास्त भएको खबर सुने पनि मुख्यमन्त्री कार्यालयबाट जानकारी नभएको उनले बताए ।
 
उनले बुधबार मन्त्रिपरिषद्मा विवाद भएकोसमेत स्वीकार गरे । राजनीतिक घटनाक्रममा यस्ता कुरा ठूला होइनन् भन्ने उनको भनाइ थियो । आफ्नो स्वर ठूलो भएको कारणले विवादजस्तो देखिएको उनले दाबी गर्दै आएका छन् । 
 
काठमाडौँका पूर्वमहानगर प्रमुख स्थापित काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनले २०७४ साल माघ २९ गते भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा पदभार ग्रहण गरेका थिए ।