मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मैघौलीमा जंगल क्याम्पबारे जिल्ला स्काउटको प्रस्टीकरण

मैघौलीमा जंगल क्याम्पबारे जिल्ला स्काउटको प्रस्टीकरण


काठमाडौँ । जिल्ला स्काउटको कार्यक्षेत्र पर्ने मेघौलीमा विदेशी स्काउटसहित कात्तिक ८ देखि १० गतेसम्म सञ्चालित जंगल क्याम्पबारे नेपाल स्काउट केन्द्रीय कार्यालयको जिज्ञासाबारे जिल्ला स्काउटले प्रस्टीकरण दिएको छ । 
 
जिल्ला आयुक्त तीर्थराज न्यौपाने र सदस्य सचिव रामप्रसाद पोखरेलले शुक्रबार पठाएको विवरणमा भरतपुर महानगरअन्तर्गत क्लिनिक नेपाल फ्रेन्डसीप स्काउट टुप मेघौलीले विगतमा पनि पटकपटक स्काउटसम्बन्धी क्याम्प र कार्यक्रम गर्दै आएको र सो कार्यक्रममा पनि अतिथिका रुपमा जिल्लालाई आमन्त्रण गरेको उल्लेख गरेका छन् । 
 
जिल्लामा ८० भन्दा बढी स्काउट टुप रहेकोले कुनै पनि टुपले क्याम्पिङ, दीक्षान्त वा स्काउन्टिङ क्रियाकलाप गर्दा स्काउटको परिधिभित्र रही कार्य गर्ने र जिल्लालाई पछिमात्रै जानकारी दिने गरिएको उल्लेख गर्दै सो क्याम्पमा पनि क्लिनिक नेपाल स्वयं आयोजक रही बजेट व्यवस्थापन, अतिथि आमन्त्रण र कार्यक्रम सञ्चालन गरेको केन्द्रमा पठाएको पत्रमा उल्लेख गरिएको छ । 
 
क्लिनिक नेपाल फ्रेन्डसीप स्काउट टुप मेघौलीको आयोजना एवम् बेलायतको क्या वोट डिस्टिक को प्रिन्टर लिडर रोकर्ट ल्यूरेन्स विस्टोनको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएको थियो ।
 
क्लिनिक नेपालसँग आवद्ध २३२ जना स्काउट, १२ स्काउटर, बेलायत स्काउटका ३३ जना विद्यार्थी र १४ जना शिक्षकको सहभागिता रहेको सो क्याम्पमा विविध मनोरञ्जनात्मक कार्यक्रम, व्यावहारिक ज्ञान, प्राथमिक उपचार, तालिमलगायत स्काउटिङ गतिविधि सञ्चालन भएको थियो ।
 
तर, सो कार्यक्रममा जिल्ला स्काउटलाई अतिथिका रुपमा आमन्त्रण गरेकाले सहभागीसम्म भएको पत्रमार्फत् प्रस्टीकरण दिइएको छ । 
 
मेघौलीमा विदेशी स्काउटसहित सञ्चालित कार्यक्रममा नेपाल स्काउटका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुँदासमेत नेपाल स्काउटको केन्द्रीय कार्यालयमा सामान्य जानकारी र सूचना प्राप्त नभएको भन्दै नेपाल स्काउट र सम्बन्धित मन्त्रालयले ध्यानाकर्षण गर्दै सात दिनभित्र कार्यक्रमको उद्देश्यसहितको विवरण पठाउन जिल्ला स्काउटलाई पत्र पठाएको थियो ।