नेपाल

डा भक्तमान श्रेष्ठ भ्रष्टचारको मुद्दामा दोषी ठहर

डा भक्तमान श्रेष्ठ भ्रष्टचारको मुद्दामा दोषी ठहर


काठमाडौँ । विशेष अदालतले चितवन भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । 
 
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले मंगलबार उनलाई एक वर्ष कैद र रु एक करोड १८ लाख ६६ हजार ७७६ जरिवानाको फैसला गरेको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए । 
 
डा श्रेष्ठ अस्पतालको अध्यक्ष हुँदा रु एक करोड ६७ लाख ५७ हजार ११३ स्रोत नखुलेको ९अवैध० सम्पत्ति आर्जन गरेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०७२ फागुन २ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 
 
अदालतले रु ४८ लाख ९० हजार ३३७ वैध सम्पत्ति कमाएको ठहर गरेको छ । बाँकी रु एक करोड १८ लाख ६६ हजार ७७६ अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले यो बराबर डा श्रेष्ठको सम्पति जफत हुने फैसलो गरेको हो । 
 
अदालतले डा श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई भने सफाइ दिएको छ । 
 
डा श्रेष्ठ विशेषज्ञ चिकित्सकका रूपमा सो अस्पतालमा २०५४ सालमा सेवा प्रवेश गरी २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भई काम गरेका थिए ।