मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गृहमन्त्री र आईजीपीको राजीनामा माग्दै प्रदर्शन र कोणसभा

गृहमन्त्री र आईजीपीको राजीनामा माग्दै प्रदर्शन र कोणसभा


काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको प्रकरणमा संलग्न अपराधीलाई कारबाहीको माग गर्दै काठमाडौँमा भव्य प्रदर्शन गरिएको छ ।  
 
निर्मलालाई न्यायका निम्ति प्रदर्शनमा विभिन्न दलका नेता, कार्यकर्ता, नागरिक अधिकारकर्मी, पेसाकर्मी तथा विद्यार्थीहरु स्वतस्र्फुत सहभागी भएका थिए । सरकारले निषेध गरेको माइतीघर मण्डलाबाटै सुरु गरिएको प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो ।  
 
सो अवसरमा प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन् । 
 
निर्मलाका हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै प्रदर्शनकारीहरुले दुई महिनाभन्दा बढी समयदेखि निरन्तर पैदर्शन र खबरदारी र दबाब दिँदै आए पनि सरकारले दोषी पत्ता लगाउन नसकेकोमा आक्रोश पोख्दै गृहमन्त्री र आईजीपीले नैतिकताका नाममा राजीनामा दिनुपर्ने बताएका हुन् । 
 
गत साउन १० गते साथीको घर गएकी निर्मलाको शव साउन ११ गते उखुवारीमा विभत्स अवस्थामा फेला परेको थियो । तर, प्रहरीले अपराधी लुकाउन आफैँले प्रमाण नष्ट गरेको भन्दै कञ्चनपुरका स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दै गोलीसमेत चलाउँदा एकजना बालकको ज्यान गएको थियो । 
 
निर्मलाको हत्यारा पत्ता लगाउन देशभरबाट आवाज उर्लिरहँदासमेत सरकारले घटनाका दोषीलाई पक्राउ गर्न नसकेको भन्दै विभिन्न दलमा आबद्ध कार्यकर्ता तथा अभियन्ताहरू प्रदर्शनमा उत्रिएका हुन् । 
 
यसैबीच, चितवनको रत्ननगरमा पनि विद्यार्थीहरुले निर्मला पन्तका बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने, गृहमन्त्री र प्रहरी प्रमुखले राजीनामा दिनुपर्ने, भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको प्रत्याभूति गरिनुपर्ने नारा लगाउँदै रत्ननगर बजार परिक्रमा गरेका थिए ।