काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको २९औँ साधारण सभालाई सम्बोधन गर्दै उनले विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र देशको आवश्यकता पूरा नगर्ने भएकाले प्रयोगात्मक र व्यावहारिक शिक्षा दिइनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, “अब कक्षाकोठाको पढाइले मात्र पुग्दैन, विद्यार्थीलाई घर गाउँमा, खेतमा नै लगेर शिक्षा दिनु पर्दछ ।”
शिक्षालाई आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनुपर्छ, उनले भने, “शिक्षा र प्रविधिलाई सँगसँगै अघि बढाएर लग्यो भने यसले थोरै जनशक्तिबाट धेरै काम लिन सकिन्छ ।”
प्रधानमन्त्री ओलीले यस वर्षदेखि शुरु गरिएको निरक्षरताविरुद्धको महाअभियानले आगामी वर्षमा सबै बालबालिकालाई विद्यालयमा ल्याइने बताउँदै “आगामी वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुने छैनन्”, भने ।
विश्वविद्यालय अब विशिष्टकृत हुनैपर्ने उल्लेख गर्दै उहाँले विश्वविद्यालयमा आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकताभन्दा बढी कलेजले सम्बन्धन पाएको बताए ।
प्रधानमन्त्री ओलीले देशको आवश्यकताअनुसार शिक्षण संस्था खोल्नुपर्नेमा जोड दिँदै शिक्षालाई देशको आवश्यकताअनुसार अघि बढाउनु पर्दछ भने ।







प्रतिक्रिया