मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

मेरो साथी

मेरो साथी


अमृत पहिलोपल्ट अमेरिका जाँदै थियो । वास्तवमा यो उसको पहिलो विदेश यात्रा थियो, भारत बाहेक । ट्रेन चढेर बनारस, पटना र दिल्ली गएको थियो, तर प्लेन चढ्ने मौका पाएको पनि यो पहिलोपल्ट नै थियो । पहिलोपल्ट विदेश जाने उसको लागि अझ ठूलो कुरा यस कारणले पनि थियो कि न्यूयोर्कमा हुन लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा उ सँगै अरू ५ जना स्रष्टाहरूलाई पनि निम्तो थियो । तर भिजा उसले मात्र पाएको थियो । उ भन्दा वरिस्ठहरुले नपाएको कारणले पनि उसले पाउनु उसको लागि ठूलो महत्व राख्थ्यो ।
 
सानै उमेर देखि अमेरिका उसको सपनाको देश थियो; अमेरिकी साहित्यमा विद्यार्थीकाल देखि रुची थियो: एलेन पो, अर्नेस्ट हेमिन्ग्वे, माया एन्जेलु र जेम्स वाल्दीन उसलाई मन पर्ने अमेरिकी स्रष्टाहरू थिए । केही अमेरिकन स्रष्टाहरू सित उसको ‘अनलाइन’ सम्पर्क थियो, र एक दिन अमेरिकन स्रष्टाहरूसित अमेरिकामै भेट्ने उसको लालसा पूरा हुने भएर पनि उ निकै रोमाञ्चित थियो ।
 
भ्रमणले अर्को मोड तब लियो जब उ अमेरिका आउने थाहा पाएर, “नेरिना” ले लस-एन्जेल्स आउने निम्ता दिई । “नेरिना” आइए पढ्दाको उसको ‘क्लासमेट’ थिई जसलाई उसले एकतर्फी प्रेम गर्थ्यो । उ नेरिनाको घरमा धेरै पल्ट गएको थियो । उसलाई नेरिनाका घरवालाले आफ्नै ठान्थे, केही पर्यो कि उसलाई बोलाइ हाल्थे । तर नेरिनालाई आफ्नो प्रेम प्रकट गर्ने आँट उसमा कहिल्यै आएन । उसले आँट देखाउने मौका खोज्दा खोज्दै, उ बिहे गरेर अमेरिका गई ।
 
अर्को कारणले पनि यो भ्रमण उसको निम्ति महत्वपूर्ण थियो कि त्यो अन्तर्राष्ट्रिय भेलामा उसलाई सम्मान गर्ने कार्यक्रम थियो । अरू कसैसित नभने पनि उसले आफै सित धेरै पल्ट भनेको थियो, ‘अन्तर्राष्ट्रिय रूपमा पहिलो पटक सम्मान पाउनु ठूलो कुरो हो कुनै पनि साहित्यकारका लागी ।’
 
उसले प्लेन बाहिरको दृश्य नियाल्यो । लोहकंथली देख्यो । लोहकंथलीको आफ्नो डेरा देखिन्छ कि भनेर निकै खोज्ने कोसिस गर्यो तर ठम्याउन सकेन । लोहकंथली सरेको पनि झन्डै ५ वर्ष बढी भइसकेको थियो । त्यो भन्दा पहिले उ बानेश्वरमा ७ वर्ष बसेको थियो र भाडा तिर्न धाउ-धाउ भएपछि उ लोहकंथली सरेको थियो । लोहकंथली डेरा सरे पनि, सुरुमा त बानेश्वरले तानी रहन्थ्यो, बानेश्वर र बानेश्वरको साहित्यिक समूहलाई सम्झी रहन्थ्यो र उतै गइ रहन्थ्यो तर अब लोहकन्थलीमै रमाइलो लाग्न लागि सक्यो उसलाई । यता पनि साहित्यकारहरूको एउटा सानो झुण्ड बनेको थियो, बसीबियाँलो उनीहरूसित भई रहन्थ्यो, साथै नियमित रूपमा स्रष्टाचार भई रहन्थ्यो । जागिर खाएर आएपछि साँझ उनीहरूसित भेटेपछि उसको थकाइ मेटि हाल्थ्यो । त्यसमा पनि एक पेग व्हिस्की लगाए पछि त दुनियाँ अर्कै भई हाल्थ्यो ।
 
तर आज उसलाई खल्लो लागिरहेको थियो: एयरपोर्ट पल्लो पारी भए पनि लोहकंथलीबाट बिदा गर्न कोही आएनन् । उसले आफैलाई सम्झाएको थियो: ‘के गर्ने, जागिर छोडेर मलाई बिदा गर्न आउने कुरा भएन ।’
 
अचानक उसलाई लाग्यो कि २० मिनेट भन्दा बढी भई सक्यो उ प्लेनमा बसेको, तर जहाज उडने तरखर गरि राखेको थिएन । चारैतिर आँखा फैलायो, सबै सिट भरिसकेको र सबै यात्रु आरामले आफ्नो सिटमा बसेको देखे पछि उ अलिकति ढुक्क भयो । उसको मनको कुरा बुझे जस्तो गरेर, अचानक प्लेनले उडने तरखर गर्यो र बिस्तारै गुड्न थाल्यो । एकछिन त रमाइलो लाग्यो तर प्लेनले जमिन छोडेर आकाशलाई अँगालो मारे पछि कुन्नि किन अकस्मात् डरले समात्यो उसलाई ।
 
‘खस्यो भने?’ उसले बाहिर हेर्न सकेन । उसलाई गाहारो भएको जस्तो भयो, उसको मुटु बेसरी हल्लिन थाल्यो । उसलाई उल्टी आउला-आउला जस्तो भयो । आफूलाई सँभाल्न, उसले टाउको समात्यो र आँखा चिम्लियो ।
 
“के भो, डर लाग्यो?” एउटा मधुर आवाजले उसलाई सोध्यो । आफ्नो बगलको सिटमा एउटी महिला बसेको त उसले चालै पाएको रहेन छ । उसलाई कुन्नि किन अप्ठ्यारो लाग्यो ।
 
“डराउनु पर्दैन । पहिलो पटक हो प्लेन चढेको?”
 
देब्रे फर्केर हेर्यो, एउटी महिला थिइन । पाइन्ट शर्ट र सानो कपालले गर्दा उसले लोग्ने मानिस भन्ठानेको रहेछ । उसले केही जबाफ दिएन, मात्र फिसिक्क हाँसी दियो । उसले पनि मुसुक्क हाँसेर जबाफ दिई ।
 
अचानक आफ्नो हात अगाडी बढाएर भनि, ‘मलाइ जीनी भन्छन्, साथीहरू ।’
“को? उपन्यासकार, कथाकार?” उ अवाक् भयो ।
उसले मीठो मुस्कानले स्वीकृति जनाई ।
“तपाइको कथाहरू पढेको छु । सेक्सलाई तपाइले एकदम भिन्दै परिवेश र ढाँचामा प्रस्तुत गर्नु भएको छ, र मलाइ लाग्छ, त्यसरी अहिले सम्म नेपाली साहित्यमा कसैले गरेको छैन । मेरो भाग्य आज बलियो रहेछ, तपाइँसित भेट भयो ।”
 
भर्खर मात्र उसले जीनीको एउटा उपन्यास “सेक्सी म” पढेको थियो, त्यो पनि विजयको करले । एक साँझ विजयले, लोहकंथली स्रष्टा भेटमा, त्यो उपन्यास बारे चर्चा गरेको थियो । कथाको त्यो शीर्षकले उसको ध्यान खिँचेको थियो, पढ्न उत्सुकता जागेको थियो । भोलिपल्ट विजयले निकै प्रशंसा गरेर उसलाई ‘पढ्नूस’ भनेर किताब दिएको थियो । त्यो उपन्यास पढ्दा ठाँउ-ठाँउमा आफू भित्र असर महसुस गरेको थियो उसले, तर कतै “भल्गर” थिएन । त्यो पढे पछि जीवनमा पहिलोपल्ट उपन्यासकारलाई भेट्ने इक्ष्या जागेको थियो उसमा । उसले त्यसपछि जीनीको अरू दुईवटा कथा पढेको थियो । उसलाई ती कथाहरू मन परेका थिए ।
 
उसले त्यो हात बिस्तारै आफ्नो हातमा लिएर भन्यो, “अमृत कार्की ।”
 
“के?” अचम्म परेर आँखा फैलाउँदै उसले भनी । “अस्ति भर्खरमात्र, खासै भन्ने हो भने, तिन दिन अगाडी मात्र, साथीहरूको सानो भेटघाटमा तपाइँको नाम चर्चामा आएको थियो ।”
उ मनमनै दङ्ग पर्यो । ‘जीनीको सर्कलमा नाम चल्नु त ठूलै कुरो हो ।’
“ओ हो, हामी जस्ताको चर्चा कसरी चल्यो त?”
“तपाइँको त्यो कथा ‘मेरो साथी’ ले त काठमाण्डौको साहित्यिक फाँटमा निकै तरङ्ग ल्याएको छ ।”
“ए, हो र? तपाइँले भनेपछि त पत्याउनै पर्यो ।”
“तपाइँको लेखाइमा भिन्दै खालको गहिरोपन महसुस भएको थियो । त्यो पढेपछि मेरो मनमा कैयौँ प्रश्न उब्जेको थियो । दिमाग खलबलिएको थियो । त्यसको असर अहिले सम्म छ ।”
“तपाइँको मुखबाट त्यस्तो सुन्नु मेरो लागि ‘गोल्ड मेडल’ जिते जस्तै हो । धन्यवाद!!”
 
उ हाँसी मात्र ।
 
प्लेन काठमाडौं माथि उड्दै थियो, अमृतको डर भागी सकेको थियो । यसो प्लेनको झ्यालबाट बाहिर हेर्यो, बादल र आकाश मात्रै थिए । एकैछिन बादलका विभिन्न आकारहरू हेरी रहयो र सम्झियो आफ्नो पिताजीलाई जो उसलाई सानै हुँदा बादलमा विभिन्न आकार पत्ता लगाउन उस्काउनु हुन्थ्यो र जसलाई उ सानै हुँदा, आमाको भाषामा ‘देउताले बोलाएका थिए’ ।
 
उ जीनी तिर फर्कियो । जीनी अर्को झ्याल तिर हेर्दै थिई । उ उसलाई नियाल्न थाल्यो । ‘अधबैँसे जोबन, जीउडाल ठीककै, छातीमा महिलापनको कुनै चिन्ह थिएन, खासै चाख लाग्दो त होइन । म भन्दा जेठी होली ।’ उसले अनुमान लगाउन खोज्यो ।
 
अचानक जीनी उ तिर फर्की र सोधी, “कता जान लाग्नु भएको हो?”
 
“अमेरिका” ।
“ए म पनि अमेरिका नै जान लागेको हो । फ्लाइट कुन हो नि?”
“दिल्ली-बम्बई-दुबई-न्यूयोर्क”
“ए मेरो पनि त्यही फ्लाइट हो । कस्तो रमाइलो!! सँगै हुने भइयो । कुनै विशेष कामले हो कि?”
“न्यूयोर्कको अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा भाग लीन जाँदै छु ।”
“कस्तो संयोग, म पनि भाग लिदै छु ।”
“वा, क्या मज्जा!”
 
उसको अनुहारमा एउटा मीठो मुस्कान छायो । “कुरा मिल्ने साथी भयो भने यात्रा सजिलै बित्छ, नत्र त अमेरिकाको यात्रा त दिक्क लाग्दो हुन्छ ।”
 
“किन र?”
“सार्है लामो यात्रा छ नि!”
“ए ! त्यो त हो । मेरो त विदेश यात्रा यो पहिलो हो ।”
“ए, मेरो त आधा समय नेपालमा आधा अमेरिकामा बित्छ ।”
‘ओहो, निकै धनी हुनु पर्छ । ल रमाइलो हुने भयो । साथी पनि पाइयो घुम्न पनि पाइने भयो ।’ मनमनै सोच्यो । केही भन्न मात्र लागेको थियो, एयर होस्टेसले, ‘के पिउनु हुन्छ?’ भनेर सोधे पछि, जीनीले उ तिर हेरेर सोधेकी थिई, “तपाइँ?”
 
“व्हिस्की ।” । अमृतले व्हिस्की भने पछि उसलाई हेर्दै जिनीले भनि- “मलाइ पनि व्हिस्की ।”
 
अमृतको आँखामा केही देखेर होला, उसले मुस्कान सहित भनि, “लामो यात्रामा साथीको ख्याल राख्नु पर्छ । म खासमा व्हिस्की पिउँछु, तर साथीहरू भएको वेला, उनीहरूको हिसाबले पिउने कोसिस गर्छु ।”
 
“धन्यवाद” ।
 
उसले नबोली मुस्कानले फर्काइ । ‘कस्तो मीठो मुस्कान ?!’ जे होस उसलाई मन पर्यो जीनी ।
 
एयरहोस्टेसले व्हिस्की दिएपछि जीनीले ग्लास उठाएर भनि, “चियर्स, नयाँ मित्रताको लागि!!:
 
“चियर्स!”
“जीनी, वर्षमा कति पल्ट नेपाल ओहोरदोहोर गर्नु हुन्छ?”
“झन्डै ५ पल्ट ।”
 
उसले हिसाब गर्यो, ५ पल्टको प्लेन खर्च मात्रै, झन्डै ७-८ लाख रूपैयाँ । ‘भने पछि धनी रही छे ।
 
मनमा गुथ्यो, ‘बिस्तारै दोस्ती बढाउनु पर्यो । न्यूयोर्क, डिसी र वरिपरि घुमाइ दिन्छे की?’
 
“तपाई, न्यूयोर्क नै बस्नु हुन्छ कि अन्तै?”
“न्यूयोर्कको छेउमा एउटा न्युजर्सी भन्ने शहर छ, त्यही बस्छु ।”
“ए । कति मिनेट लाग्छ तपाइँको घरबाट न्यूयोर्कको त्यो साहित्यिक कार्यक्रम थलो पुग्न?”
“त्यस्तै आधा घण्टा ।”
“धेरै टाढा त होइन रहेछ । भने पछि, तपाइँलाई फुर्सत भयो भने यसो घुम्न पाइने भयो ।” उसले हाँसेर भन्यो ।
“अरूले भनेको भए म इन्कार गरि दिन्थे, तपाइँले भने पछि इन्कार गर्न मन लागेन । पक्का घुम्ने छौं । म समय निकाल्ने छु ।”
“किन? म कसरी विशेष भए त?” अचानक निस्केको प्रश्नले उसैलाई अप्ठ्यारो लाग्यो ।
“तपाइँको त्यो कथा ‘मेरो साथी’ पढे पछि, मन अशान्त भएको थियो, मन भित्र कताकता छोएको थियो । कुन्नि किन धेरै प्रश्नहरू उब्जिएका थिए । त्यसैले तपाइँसित भेट्न मन लागेको थियो । कसरी भेट्न सकिन्छ होला भनेर सोचेँ पनि, अनि एक दुई साथीहरूलाई सोधे पनि, तर यति व्यस्त भएकी, अर्को पल्ट आउँदा भेट्ने बिचार गरे । यति चाडै भेट होला जस्तो लागेको थिएन । अब मौकामा चौका हान्नु पर्छ, होइन त?” उ हाँसी, सँगसँगै उ पनि हाँस्यो ।
 
त्यतिकैमा खाने कुरा आइ पुग्यो, दुवै खान लागे । उसले फटाफट खाएर सिध्यायो, उ एकदम बिस्तारै खाँदै थिई ।
 
“कस्तो मीठो खाने कुरा । हामीले खाने भन्दा अर्कै तर मीठो स्वाद ।” उसले भन्यो ।
“मलाइ त मननै पर्दैन ।”
“मेरो निम्ति नया स्वाद भएर होला । तपाइँको परिवारमा को को छन् त?” जीनीको अनुहारमा आएको परिवर्तनले उसलाई, ‘किन सोधे हुँला?’ भन्ने लागि हाल्यो ।
“म एक्लो छु । तपाइँको नि?”
“म पनि एक्लो बस्छु । आमा भाइ सित बस्नु हुन्छ । भाइको परिवार छ, मैले चाही अहिले सम्म बिहे गरेको छैन ।”
“किन नगरेको त?”
 
“खै किन भनुँ । म पाल्पाको एउटा सानो गाउँमा जन्मेको मान्छे । म १२ वर्ष हुँदा पिताजी बित्नु भयो त्यसैले सानै उमेर देखि काम गर्नु पर्यो । भाइ बैनीलाई पढाउनु पर्यो । दुई वर्ष अगाडी बल्ल तल्ल मास्टर्स सिद्ध्याए । अहिले एउटा प्राइभेट कम्पनीमा असिस्टेन्ट म्यानेजरको जागिर खादै छु । अब तपाइँनै भन्नोस्, आफ्नो ठेगान छैन, अर्काकी छोरी ल्याएर दुख्ख दिनु?”
“त्यो त हो । कुरा त राम्रो हो । तर ल्याएर अर्काको छोरीलाई दुख्खनै हुन्छ भन्ने पनि के छ र? पिडा बाँडेर लिए सुख्ख नत्र दुखै-दुख्ख । तर मन मिल्ने साथी भयो भने जीवन रमाइलोसित पनि बित्छ नि!”
“होला, खै मेरो अहिले सम्म त्यस्तो कुनै साथी भएन ।”
“तपाइँले नचाहेर होला, नत्र तपाइँ जस्तोसित जीवन बिताउन त धेरै लालायित होलान् नि?”
“खै, अहिले सम्म त्यस्तो ‘फिल’ गरेको छैन । अब भयो भने सोच्नु पर्ला ।” त्यसो भन्न साथ उसलाई अप्ठ्यारो लाग्यो र पछुतो भयो ।
केही समयको मौनता पछि जीनीले भनि, “नरिसाउने भए, एउटा प्रश्न सोधुँ?”
“तपाइँसित रिसाउने त कुरै भएन ।”
“अमेरिका पुग्ने सबै जसोले मलाइ ‘काम गर्न पाइन्छ?’ भनेर सोध्छन् । तपाइँलाई म आफै सोध्छु: अमेरिकामा काम गर्ने मन छ? अमेरिकामा बस्ने र केही पैसा कमाउने रहर छ भने, म मद्दत गर्न तैयार छु ।”
“त्यो गैरकानुनी हुँदैन र? मैले सुनेको त आजकल त त्यस्तो गर्नेलाई गर्दन समाएर निकाल्छन् रे त!”
“त्यो हल्ला मात्र हो । केही कडाइ गरेको छ तर तपाइँले भनेको जस्तो पनि होइन । गैरकानुनी त हो तर सबैले गर्छन् । भिजा कति सम्मको छ?”
“भिजा ६ महिनाको छ ।”
“रहर छ भने, ६ महिना बसे भइ हाल्यो । पाँच-दश लाख कमाएर फर्के भई हाल्यो । अझ अर्को ६ महिनाको भिजा थपे पनि भो ।”
“दश लाख!! मेरो लागि त ठूलो कुरो हो । साँच्चिकै हो?”
“किन र? विश्वास लागेन?”
“वाह, यो त गजबको कुरो भयो ! अनि काम के गर्ने र कसरी खोज्ने ?”
“त्यो त सजिलो कुरा भयो । म मद्दत गरुँला ।”
 
उसले सोच्यो, ‘यो त सोच्दै नसोचेको कुरा भयो । तर काम पाइयो भने पनि फेरी बिदा कसरी मिलाउने? कम्पनीले देला जस्तो लाग्दैन । तैपनि कोसिस गर्दैमा के बिग्रिन्छ र?’
 
“यो अमेरिका भन्ने देशले त मेरो चोला नै फेर्ने पो हो कि, कसो?”
उसले हाँसेर भनि, “के ठेगान? त्यो त फेरि तपाइँमा भर पर्ने कुरा भयो ।” एकछिनको चुप्पी पछि भनि,
“तपाइँलाई त रमाइलो रहेछ । आमा भाइसित बस्नु भएको छ, बिहे गर्नु भएको छैन । कतै केही झन्झट छैन । जे गरे पनि भो ।”
“हो । भाइको आफ्नै घर छ, चाबहिलमा । उसैसित बस्नु हुन्छ ।”
“राम्रो । त्यो पनि राम्रो कुरा हो । आजकल त बूढाबूढीलाई त छोराहरूले हेर्दैनन् भन्ने सुनेको छु नेपालमा ।”
“त्यस्तो पनि होइन । मेरो भाई बुहारी दुवैले ख्याल राख्छन् आमाको । त्यसैले मलाइ सन्चो छ ।”
“कस्तो आनन्दी कुरा!”
“त्यो पनि सहि हो कि अरू बन्धनहरूबाट मुक्त छु । आकाशको आजाद पन्छी हुनुमा आफ्नै मस्ती छ ।”
“आ-आफ्नो सोचाइ हो ।” जीनीको स्वरमा कता कता पीडा लुकेको भान भएको थियो उसलाई । तर आफूलाई सँभाल्दै, अमृतको आँखा भित्र खोतल्न खोजे जस्तो गरेर हल्का मुस्कानका साथ, जीनीले भनि, “तपाइँ एउटा रमाइलो र चाख लाग्दो मान्छे हुनु हुँदो रहेछ । त्यसैले तपाइँका पात्रहरू पनि सार्है चाख लाग्दा । तपाइँको त्यो कथा “स्वतन्त्र” पढ्दा मेरो मनमा लागेको थियो, यस्तो पात्र सिर्जना गर्ने मान्छे कस्तो होला ।”
 
“कस्तो लाग्यो त?”
“पात्रहरू जस्तै, एकदम खुला ।”
उसले हाँसेर भयो, “तपाइँसित छुट्टिने बेलामा यो प्रश्न फेरी सोध्ने छु ।”
उसले पनि हाँसेर भनि, “मलाइ लाग्दैन, मेरो उत्तर अर्कै हुनेछ ।”
उनीहरू दुवै हाँसे । त्यसपछि दुबै आफ्नै दुनियाँमा पुगे । दिल्लीमा प्लेन उत्रन लागेको ‘एनाउन्स’ भए पछि मात्र उनीहरू वर्तमानमा फर्के ।
जहाजबाट उत्रिदैं गर्दा उसले सोधी, “५ घण्टा कुर्नु पर्छ दिल्लीमा, के गर्ने हो, एयरपोर्टमा?”
“मैले त दिल्ली एयरपोर्ट देखेको छैन, यसै घुम्दा पनि रमाइलो हुन्छ मलाइ त । तपाइँ के गर्नु हुन्छ?”
“मेरो त केही साथीहरू भेट्न आउँछन्, बाहिर निस्कन्छु । तपाइँ पनि जाने भए जाऊ?”
“तपाइँका साथीहरूसित म के गर्नु?”
“तपाइँलाई रमाइलो लाग्छ । उनीहरू पनि साहित्यमा चाख राख्छन् ।”
“त्यसो भए त ठीककै छ । म पनि भेट्छु ।”
 
उनीहरू ‘इमिग्रेसन’ बाट बाहिर निस्कनासाथ् झन्डै १२ जना नेपालीहरूले उनीहरूलाई स्वागत गरे । सबै जनालाई लिएर उ एउटा रेस्टुराँमा पसी । चियाको अर्डर भयो । अनि परिचय शुरु भयो । उसलाई बाहिर आएकोमा खुशी लाग्यो, किन कि ती सबै स्रष्टा रहेछन् । जीनीले उसको परिचय गराए पछि उनीहरूको पुरा ध्यान उसमाथी खनियो । उसको कथा कसैले पढेका रहेन छन्, उसको नाम कसैले सुनेका रहेन छन् । तर जीनीको साथी भने पछि उसलाई निकै आदर पूर्वक हेरे । उसलाई त्यो निकै चाख लाग्दो र रमाइलो लाग्यो । जीनीको भने जे निस्के पनि पढ्दा रहेछन् । झन्डै आधा घण्टा जति नेपाली साहित्यमा चर्चा चल्यो अनि उनीहरूको श्रृजना बारे चर्चा चल्यो । उनीहरूले अमृतको सिर्जना बारे पनि चाख राखे । एक घण्टा बितेको उनीहरूलाई थाहै भएन । डेढ घण्टा जति उनीहरूसित गफ गरेपछि बिदा मागेर दुवै जना एयरपोर्ट भित्र छिरे ।
 
“रमाइलो भयो । यात्रामा पनि यस्तो जमघट होला भन्ने सपनामा पनि चिताएको थिइन । तपाइँलाई धन्यवाद! जे होस् मजा आयो ।”
 
“धन्यवाद” ।
 
प्लेन उड्न अझै झन्डै एक घण्टा समय थियो, तसर्थ जीनीले उसलाई एयरपोर्ट घुमाउने निर्णय गरी । त्यो एक घण्टा घुम्दाको रमाइलो कुरा के भयो भने, उनीहरू ‘तपाइँ’बाट ‘तिमी’ मा उक्लि सकेका थिए तर उनीहरूले पत्तै पाएनन् ।
 
आखिरमा प्लेन उड्ने समय भयो । उनीहरू प्रस्थान गृह तिर लागे । दुबई जाने प्लेन भिन्दै थियो र प्लेन भित्र पसेपछि उनीहरूलाई थाहा भयो की उनीहरूको सिट त भिन्दै रहेछ । तर जीनीले अमृतको सिटको बगलमा बस्ने मान्छेलाई आफ्नो सिटमा बस्न मनाइ र उ सँगै आएर बसी ।
 
अमृतको धेरै महिला साथी थिए । कति सित त उसको शारीरिक सम्बन्ध पनि भएको थियो अहिले पनि छ तर जीनी जस्तो केटीसित उसको पहिले भेट भएको थिएन । यो नया मित्रताले कुन्नि किन उसलाई कुत्कुताई रहेको थियो, उसले आफूमा भिन्दै तरंग छाएको महसुस गरेको थियो । ‘राम्री त होइन, तर ..।’ ‘तर’ को जबाफ उ सित थिएन । हुन त दुई तिन घण्टामा कसैसित पनि त्यति सजिलैसित उसको घुलमिल कहिल्यै भएको थिएन ।
 
प्लेन उड्ने तरखरमा थियो । उसले जीनी तिर हेर्यो । उ आँखा चिम्लेर सोचमा मग्न थिई । अनुहारमा एउटा लुकेको तर मीठो मुस्कान देखिन्थ्यो । भेटे देखि उसको त्यो मुस्कान उसलाई असाध्यै मन परेको थियो । मनमा अचानक लाग्यो उसलाई, ‘त्यो ओठ टोक्न पाए कस्तो मजा आउथ्यो होला?’ त्यो मनमा लाग्ना साथ उसले आफ्नो आँखा अर्कै तिर फर्काउने कोसिस गर्यो ।
 
प्लेन उड्यो तर यस पाली उसलाई गाहारो भएन, तर आँखा चिम्लेर बसी रहयो । जीनीले उसको हात समाएर “डर लाग्यो?” भनि । उसले आँखा चिम्लेर नै “छैन” भन्यो । जीनीले हात छुटाउन कोसिस गरि तर उसले छोडेन । उसको हात समाएर, आँखा चिम्लेर बसी रहयो । एक प्रकारको तरंग उसको शरीरमा बग्दै थियो, उसले त्यो अनुभूतिबाट बाहिर आउन चाहेन । जीनीले पनि उसको हात छुटाउने कोसिस गरिन । अनि उ पनि आँखा चिम्लेर बसी ।
 
“व्हिच ड्रिङ्क्स यू वान्ट?” भनेर एयरहोस्टेसले भनेपछि उनीहरू झस्के र हात छुटाए ।
 
“क्यान आइ हेव डबल पेग अफ व्हिस्की?” जीनीले भनि । अमृतले जीनी तिर उत्सुकता पूर्वक हेर्यो तर उ अर्कै सोचमा थिई, उ तिर हेर्दा पनि हेरिन ।
 
अमृतले रेडवाइन माग्यो । एयरहोस्टेसले जीनीलाई डबल पेग दिई र जीनीले एकै सासमा गिलास रित्याई दिई । उ हेरेको हेरेँ भयो ।
 
‘यसलाई केही त भएको छ?’ उसलाई मनमा लाग्यो तर कुन्नि किन उसलाई कोट्याउन मन लागेन । एकैछिन पछि नास्ता आयो । दुबैले चुपचाप खाए । उसले फेरी एक पेग मागी र फेरी एकै सासमा रित्याई दिई ।
 
“यसलाई पक्कै केही कुराले खाइ राखेको छ । फेरी जति खाए पनि नलाग्ने?” उसले सोच्यो तर पनि मुख खोल्न सकेन ।
 
अचानक जीनी उ तिर फर्की र भनि, “म एकछिन सुत्छु है?”
 
उ मनमनै उसको प्रश्नको हिसाब किताब गर्दै थियो र उसको जबाफ नपर्खदै जीनीले अमृतको कुममा टाउको राखी र आँखा चिम्ली । अमृत शायद त्यसको लागि तैयार थिएन, एकदम अप्ठ्यारो लाग्यो उसलाई तर तुरुन्तै सम्ल्हियो । टिभीमा “टम एण्ड जेरी” चलिरहेको थियो, अमृतले त्यसैमा आफ्नो ध्यान लगाउने कोसिस गर्यो । धेरै पल्ट हेरिसकेको भए पनि यो सिनेमा उसलाई सधैँ मन पर्ने सिनेमाहरूमा पर्थ्यो । एकैछिनमा उ सिनेमा हेर्न मग्न भै हाल्यो ।
 
अचानक जीनी चलबलाई, उसले आफ्नो टाउको अमृतको कुममा मिलाउन खोजी । अमृतलाई लाग्यो, ‘शायद अप्ठ्यारो भयो जस्तो छ ।’ फेरी अचानक जीनीले उसको र अमृतको बीचमा रहेको हात राख्ने सपोर्ट माथिपट्टि फर्काइ दिई र दाहिने फर्केर दाहिने हात उसको तिघ्रामा राखेर अर्को हातको अँगालो कसी र सुति ।
 
‘कस्तो स्वास्नीमान्छे हो यो? के खोजेको हो यसले? भर्खर दुई घण्टा अगाडी चिनेको मान्छेसित यसरी टाँसिएर सुतेकी छ ?’
 
उसले जीनीको त्यो ‘प्रोभोकेटिव’ कार्यलाई सामान्य रूपमा लिने कोसिस गरेर आफ्नो ध्यान फेरी सिनेमा तिर लगायो । तर सिनेमा के हेर्न सक्थ्यो? जीनीको तातो सासले उसलाई असजिलो बनाई रहयो । उता जीनी एकैछिनमा निदाई सकेकी थिई । अमृतले बिस्तारै आफूलाई सिटमा सजिलो बनायो र आँखा चिम्लियो ।
 
जीवनमा धेरै केटीहरूसित उसको सम्बन्ध भएको थियो, तर जीनीसित जस्तो त कहिल्यै भएको थिएन: केही घण्टा भित्रमा उ कसैसित यति नजिक भएको थिएन । उ आफै चकित महसुस गरिरहेको थियो । जीनी तिर हेर्यो, उ सपनामा मुस्कुराई रहेकी थिई । उसलाई लाग्यो त्यो ओठले उसलाई निमन्त्रणा दिई राखेको थियो । उसलाई त्यो ओठमा आफ्नो ओठ जोड्न मन लाग्यो तर सँभाल्यो आफैलाई । अचानक जीनी घूर्ण थाली । उसले जीनीलाई बिउँझाउने कोसिस गरेन बरु बिस्तारै कपाल सुम्सुमाउन थाल्यो । एकैछिन पछि घूर्ण बन्द भयो । जीनीको कपाल सुम्सुमाउदा सुम्सुमाउदै कति खेर निदायो उसलाई नै पत्तो भएन ।
 
उ ब्यूँझिँदा जीनी ‘फ्रेस’ भएर आइ सकेकी थिई ।
 
“म त आधा घण्टा भन्दा बढि नै सुते छु । तिमी चाही कति खेर निदायौ नि?”
“खै पत्तै भएन?!”
“धेरैपछि सारै मीठो निन्द्रा लाग्यो । तिमीलाई दुख्ख दिए, हगी?”
“के को दुख्ख? म पनि निदाई हाले ।”
 
“धन्यवाद!!”
 
उ एकदम ‘नर्मल’ भई सकेकी थिई । तर उसले महसुस गर्यो, जीनीको अनुहारमा अर्कै चमक छाएको थियो ।
“कस्तो अचम्मको केटी हो यो? दुई तिन घण्टा भएको भेट भएको तर मानो वर्षौ देखीको सम्बन्ध जस्तो । सम्बन्ध त धेरै सित भयो, यस्तो त भेटेको थिइन ।”
“धेरै दिन भएको थियो, मलाइ मीठो निन्द्रा लागेको । जिउ हलुको भयो, फ्रेस भए ।”
“अब मेरो पालो, म फ्रेस भएर आउँ है त?”
“ओके”
 
उ सिटमा फर्कदा खाना आइ सकेको रहेछ । जीनीले माछा लिएकी रहिछ, उसको लागि चिकेन ।
 
“माछा पो मीठो होला जस्तो छ त?” उसले जिस्काउँदै भन्यो ।
“मैले टिकट किन्दा नै माछाको अर्डर गरेको थिए । सोधुँ, रहेछ भने ठीक छ, नत्र तिमी यो खाउ म चिकेन खाउँला ।”
“रहेछ भने ठीक छ नत्र मलाइ चिकेन पनि उत्तिकै मन पर्छ ।”
 
उसले केही नभनी, खाना साटी, अनि एयरहोस्टेसलाइ बोलाएर माछा भए अर्को देउ भनि । एयरहोस्टेसले “छ” भनि र अर्को खाना ल्याएर दिई । चिकेन पनि छोडेर गई । अमृतलाई खाना मीठो लाग्यो: पहिले माछा खायो र पछि चिकेन पनि सिध्यायो । रमाइलो मानेर जीनी उसले खाएको हेरी रही । उनीहरूले खाना खाए पछि एक एक गिलास वाइन पिए ।
 
“के भएको मलाइ? निन्द्रा लागेको लागै छ । फेरी सुतुँ?”
“हुन्छ ।”
 
उसको काँधमा टाउको राखेर उ आँखा चिम्लेर बसी र एकै छिनमा निदाई पनि हाली । उ सिनेमा हेर्न लाग्यो । सिनेमा सिद्धिनु अगाडी नै उ ब्यूँझि ।
 
“के भाको आज? फ्लाइटमा कहिल्यै निन्द्रा लाग्दैन थियो, आज लागेको लागेकै छ?”
“राम्रो नि । म साथी भएर हो कि?”
“हो, पक्कै हो ।” उसले हाँसेर भनि । हाँस्दा चाही उसको अनुहारमा भिन्दै चमक छाएको उसले महसुस गरेको थियो ।
 
उसले एयरहोस्टेससित चिया मागी, तर उसले “उत्रने बेला भो” भन्दा उसको अनुहार मलिन भयो । “न्यूयोर्क आइ सक्यो?” उसले अचम्म मानेर सोधी ।
“कहाँ न्यूयोर्क आउनु? दोहामा उत्रने बेला भयो पो भनेको” त्यो सुने पछि उसको अनुहारमा फेरी रौनक छाएको थियो ।
“ए । म त कति धेरै सुते छु भन्ठानेको??”
“दोहामा कति घण्टा रोकिन्छ?”
“झन्डै दस घण्टा” ।
“ओहो, दस घण्टा के गर्ने त? एयरपोर्ट भित्र घुमी रहने?”
“होइन, होटेल दिन्छन्, होटेलमा गएर सुत्ने । तिमीलाई होटेल दिएका छैनन्?”
“मलाइ के थाहा?”
 
उसको टिकट हेरेर उसले भनि, “तिमीलाई त होटेल दिएको रहेनछ । निस्केर झगडा गर्नु पर्छ दिन्छन् । राति सुत्नु पर्छ नत्र भोलि फेरी गाहारो हुन्छ ।
 
केही मिनेट पछि प्लेन दोहामा ओर्लियो । उनीहरू काउन्टरमा गएर अमृतको लागि होटेल मागे ।
 
“हामीसित कुनै पनि कोठा खालि छैन ।”
उसले निकै कोसिस गरि तर हातमा लाग्यो सुन्ना ।
“अब केही गर्न सकिन्न । तिमी एयरपोर्टमै सुत्नु पर्छ । खालि बेन्च पाइन्छ त्यही सुत्ने । भुइमा सुते पनि हुन्छ ।”
“यत्तिकै भुइमा सुत्नु?”
“सबै सुत्छन् । म पनि सुतेको छु ।”
“ठीक छ, त्यसो भए ।”
“केही खान मन छ?”
“त्यत्रो खाए प्लेनमा, केही खान मन छैन तर चिया खान चाही मन छ ।”
 
उसले एउटा क्याफेमा लिएर गई । चिया अर्डर गरि । उ मेनु हेर्न थाल्यो ।
 
“बाफ रे बाफ, कस्तो महँगो? एक कप चियाको तिन डलर? झन्डै तीन सय रुपैयाँ भयो??!!!”
“नेपालमा जस्तो बाहिर कहाँ हुन्छ त । अमेरिकामा पनि यस्तै हो ।”
“भने पछि, म जस्तो मान्छे अमेरिकामा घुम्न नगए पनि भयो?!”
 
उ हाँसी मात्र । त्यसपछि उनीहरूको गफ नेपाली साहित्य र प्रवासी नेपाली साहित्य तिर मोडियो । जीनीले न्यूयोर्कको नेपाली साहित्यिक गतिविधिको एउटा छनक दिई । चियाको चुस्की सित उनीहरूको गफ अमेरिकन र नेपाली अमेरिकन साहित्यबारे मोडियो । केही समयको बहस पछि उसले छक्क पर्दै भनि,
 
“अमेरिकन साहित्य बारे मलाइ भन्दा तिमीलाई पो थाहा रहेछ । म त छक्क र दङ्ग छु ।”
 
“सानै देखि अमेरिकन साहित्यमा मेरो रुची भयो । मेरो गाउँमा एउटा ‘अमेरिकन पिसकोर भोलेन्टिएर’ आएको थियो, म सानै हुँदा । हाम्रो स्कूलमा समय समयमा आउथ्यो । उसलाई साहित्यमा चाख रहेछ । एकदिन स्कूलमा मैले कविता पाठ गरे पछि, उसले मेरो साहित्य बारेको चाखबारे जिज्ञासा राख्यो र साहित्य बारे मेरो कुरा सुनेर उसले काठमाण्डौबाट फर्कदा नेपालीमा उल्था गरिएको अमेरिकन कथाहरुको सँगालो ल्याइ दियो । त्यसपछि त काठमाडौंबाट उसले कि त आफै ल्याउन्थ्यो वा मगाई दिन्थ्यो । त्यो बेला देखि अमेरिकन साहित्यमा मेरो चाख हो र त्यही चाखले अंग्रेजी जान्ने जाँगर बढेको हो । त्यसैले पनि अमेरिका आउने बर्सौं देखीको इक्ष्या थियो ।”
 
क्याफेबाट निस्केपछि उसले एयरपोर्ट घुमाउन थालि । अमृतको लागि जे पनि नौलो थियो । हिँड्दा हिँड्दै उसले एकदम अचानक सोधी, “तिम्रो त्यो कथामा निरुलाई जसरी चित्रण गरेका छौं, त्यो कसरी आयो दिमागमा? त्यस्तो केटी भेटेका छौ जीवनमा?”
 
जीनीको त्यो प्रश्नले एकछिन त उ झस्कयो । दोहाको एयरपोर्टको त्यो रमाइलो क्षणमा त्यो प्रश्न उसको लागि यति अप्रत्याशित भयो कि उ ‘आ’ गरेर आश्चर्य चकित भएर उसलाई हेरेको हेरेँ भयो, उसको वाक्य नै फुटेन ।
 
उसले हाँस्दै भनि, “किन त्यस्तो वाल्ल परेको? मैले त्यस्तो त केही सोधेको त छैन, त्यति गाह्रो प्रश्न त होइन होला?”
 
“कहाँ दोहाको यो रमझम कहाँ मेरो कथा! यो ठाउँबाट त्यो कथामा जान दिमागले मानेन ।” उसले पनि हाँस्दै जबाफ दियो ।
 
“तैपनि?”
 
“कसरी शंका गर्यौ कि त्यो कथा मसित कुनै न कुनै रूपमा सम्बन्ध राख्दछ । मान्नु पर्छ तिमीलाई । हो आइएस्सी पढ्दा हाम्रो क्लासमा एउटा केटी साथी थिई, राणाजी परिवारको । सरि नाम बिर्से । एक दिन उ, म र भण्डारी पुरानो बिल्डिंगबाट म्याथ डिपार्टमेन्ट तिर जाँदै थियौ, एउटा चिन्नै न चिनेको विद्यार्थीले अलि टाढाबाटै “फाइभ रुपिज पर नाइट” भनेर उसलाई जिस्कायो । म र भण्डारी यसरी स्तब्ध भयौ कि त्यही जड भयौ । त्यो केटीको के हाल भयो होला, तिमी नै सोच्न सक्छ्यौ? म त त्यो साथी आगो होली भन्ठानेको त अचानक रुन लागि । म त के गरुँ नगरुको अवस्थामा परे । त्यहाँ बस्नु उचित नलागेर त्यो केटीको हात समाएर बिल्डिंगको छतमा लिएर गए । भण्डारी पनि सँगै आयो । माथि पुगे पछि उ क्वाँक्वाँ गरेर रुन लागि । म चाहिँ अरू कोही आउलान् भनेर थर्कमान थिए ।
 
भण्डारीले स्थिति सम्हाल्यो, उसलाई थप थपायो, र शान्त गराउने कोसिस गर्यो र केही बेरमा उ शान्त पनि भई ।
 
अनि भण्डारीले सोध्यो, ‘तिमीलाई त्यस्तो लाञ्छना लाउँदा पनि तिमीले त्यसलाई गाली गरिनौ, बरु रुन थाल्यौ । कुरा के हो प्रस्ट भन ।’ मैले इशारामा भण्डारीलाई चुप लाग्न भने र उसलाई सम्भलिन समय दिए ।
 
मेरो दिमागको फ्युज उड्यो, जब एकैछिन पछि उसले आफू त्यस्तो पेसामा लागेको स्विकारी र भनि, ‘म १३ वर्ष हुँदा मेरो आफ्नै मामाले जवर्दस्ती गर्यो । हामी उसैको घरमा बस्थ्यौ, उसैको आश्रयमा थियौ त्यसैले मैले कसैलाई केही भन्ने आँट गरिन । उसको हरकत रोकिएन । हुँदा हुँदा पछि त उसले मलाइ आफ्नो साथीहरूसित पनि सुत्न लगायो । त्यो झन्डै तिन वर्ष चल्यो । एकदिन उसले मेरी आमालाई पनि त्यसरी नै विवश बनाएको थाहा पाएपछि हामी त्यहाँबाट भागेर काठमाडौं आयौ । भाग्नुको मुख्य कारण बैनी थिई र अर्को कारण आमाको स्वास्थ्य थियो जुन अचानक खराब हुन् थालेको थियो । काठमाण्डौ आएर बैनीलाई होस्टेलमा राखी दिए । आमाको स्वास्थ्य बिग्रँदै गई रहेकोले, आमालाई पाटन अस्पतालमा भर्ना गरिदिए । अनि अर्को कुनै उपाय नभए पछि, मैले धन्दा शुरु गरे । काठमाडौं आएको एक वर्षमा आमा बित्नु भयो ।’ भन्दा भन्दै उ रुन लागि । त्यो भन्दा अप्रत्याशित घटना र विवरण र चकितको अवस्थामा मैले पाएको छैन आ&a