काठमाडौँ । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन दबाबस्वरुप नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार काठमाण्डौँमा प्रदर्शन गरेको छ ।
सरकारले पीडितलार्इ न्याय दिन नसकेको र बलात्कारीको संरक्षण गरेको भन्दै केन्द्रीय समितिको आयोजनामा नेविसंघले सरकारविरुद्ध नारावाजी गर्दै विरोध जनाएको हो ।
‘बलात्कारीलाई संरक्षण किन ?’, भन्दै सरकारविरूद्ध प्रदर्शनमा उत्रिएको नेविसंघले ‘बलात्कारी, हत्यारा, माफियाविरुद्ध नबोलौ अरिंगालले टोक्ला’ भन्दै सरकारप्रति व्यङ्ग्यसमेत गरेको छ ।
केही दिनअघि एक कार्यक्रममा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरूप्रति अरिंगालजस्तै बनेर प्रतिवाद गर्न निर्देशन दिएका थिए ।
बलात्कार र हत्याका घटनामा संलग्नलार्इ कारबाहीको माग गर्दै देशभर विरोध भइरहेका बेला प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि नेविसंघले व्यङ्ग्य गरेको हो ।
नेविसंघले निर्मलाको हत्यारा यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ ।
प्रतिक्रिया