काठमाडौँ । द्वन्द्वका कारण बेपत्ता भएका व्यक्तिका परिवारले ढिलो गरी न्याय दिनुको कुनै अर्थ नहुने भन्दै बेपत्ता भएका आफ्ना आफन्तजनको अवस्था र स्थिति सार्वजनिक गर्न सरकारसाग माग गरेका छन् ।
अन्तर्राष्ट्रिय बेपत्तासम्बन्धी दिवसका सम्झनामा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी), नेपाल रेडक्रस सोसाइटी र बेपत्ता परिवार समाजद्वारा संयुुक्तरुपमा आयोजित कार्यक्रममा उनीहरुले अहिलेसम्म आफ्ना माग सरकारले पूरा नगरेकामा चिन्ता व्यक्त गरेका हुन् ।
आर्इसिआरसीका अनुसार नेपालको सशस्त्र द्वन्द्वमा एक हजार ३३३ बेपत्ता भएका थिए । कार्यक्रममा गोरखा जिल्लाका विमला ढकालले प्रश्न गरिन्, “मेरो श्रीमान् बेपत्ता भएकोे लामो सयम बितिसक्यो, अहिलेसम्म कुनै अत्तोपत्तो छैन । पर्खाइको पीडा सहेर कहिलेसम्म बस्ने ?”
“श्रीमान्लाई कसले कहाँ बेपत्ता बनायो थाहा छैन । विसं २०७२ को भूकम्पले घर लडायो । न कमाउने मान्छे, न बस्ने घर । बाँच्ने कसरी बाँच्ने रु गहभरि आँसु पार्दै काभ्रेकी पूर्णमाया लामाले कार्यक्रममा सुनाइन् । नेपाल रेडक्रसका महामन्त्री देवरत्न धाख्वाले बेपत्ता व्यक्तिका परिवारको पीडा कम गराउन सबै निकायले ध्यान पु¥याउनुपर्छ भने ।
बेपत्ता परिवार समाजका अध्यक्ष रामकुमार भण्डारीले बेपत्ताको अवस्था, दोषीलाई कारवाही र पीडित परिवारको आर्थिक तथा सामाजिक समस्यालाई सम्बोधन गर्न सरकारसँग माग गरे ।
सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक आयोगमा अहिलेसम्म तीन हजार १९७ उजुरी दर्ता भएकामध्ये दुई ३६९ को विस्तृत छानबिन प्रक्रिया अगाडि बढेको जानकारी दिए ।
रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख अन्द्रे पेकेले नेपालको सङ्क्रमणकालीन न्याय प्रणालीले छिट्टै निकास प्राप्त गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा ‘प्रतीक्षारत आँखाहरु’ शीर्षकको नाटक मञ्चन तथा ‘नेपालमा बेपत्ता भएका व्यक्तिहरु अद्यावधिक सूची’ सार्वजनिक भएको थियो । रासस
प्रतिक्रिया