मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

यौन हिंसाविरुद्ध चितवनमा हस्ताक्षर अभियान

यौन हिंसाविरुद्ध चितवनमा हस्ताक्षर अभियान


चितवन । महिला तथा बालबालिकामाथि हुने यौन हिंसाविरुद्ध चितवनमा हस्ताक्षर संकलन अभियान सुरु भएको छ । सामुदायिक सेवा केन्द्र नारायणगढको अग्रसरता एवम् जिल्लाका विभिन्न सरोकारवालाको सक्रिय सहभागितामा हस्ताक्षर अभियान शुरु गरिएको हो । 
 
महिला तथा बालबालिकामाथि हिंसाविरुद्ध कानुन कार्यान्वयनमा राज्यलाई दबाब उत्पन्न गराउन र स्थानीयस्तरमा आमजनतालाई सचेत बनाउन अभियान संचालन गरिएको सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेलले जानकारी दिइन् । 
 
उनकका अअनुसार अभियान एकहप्तासम्म संचालन हुनेछ । अभियानमार्फत संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई पठाइने छ ।
 
चितवनमा केही वर्षयता महिला तथा बालिकामाथि हुने यौन हिंसाका घटना बढ्दै गएकाले दबाबमूलक अभियान संचालन गरिएको खरेलले बताइन् । ‘समाज जति विकसित र परिवर्तन हुँदै गएको छ, त्यति नै विकृतिका घटना बढ्दै गइरहेका छन्’, उनले भनिन्, ‘सरकारी निकाय र विभिन्न संघसंस्थाले अभियान संचालन गरे पनि घटनामा कमि आएको छैन ।’
 
जिल्लामा बालिकादेखि वृद्धासम्म यौन हिंसाको सिकार बन्न बाध्य भएको भन्दै उनले चार वर्षकी बालिकादेखि ८२ वर्षीया वृद्धासमेत असुरक्षित रहेको बताइन् । 
 
कानुन कडाइका साथ कार्यान्वयन नहुने, पीडकलाई सजाय नगरी संरक्षण गर्ने, पीडितलाई न्याय दिन नसक्नेजस्ता कारण यस्ता घटनाले प्रश्रय पाउने गरेको अधिकारकर्मीको भनाइ छ । 
 
जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष २०७३-७४ मा जबर्जस्ती करणी उद्योगमा २५ वटा मुद्धा दर्ता भएका छन् । जसमा २५ जनालाई नियन्त्रणमा लिइएको छ भने १ जना फरार छन् । यस्तै जबर्जस्ती करणीतर्फ २९ वटा मुद्धा दर्ता भएकोमा ३५ जना पक्राउ परेका थिए भने २ जना फरार छन् । 
 
आर्थिक वर्ष २०७४-७५ मा जबर्जस्ती करणी उद्योगतर्फ २३ मुद्धा दर्ता भएकोमा २१ जना पक्राउ परेका थिए । जसमध्ये २ जना फरार छन् । यस्तै जबर्जस्ती करणीर्फ ५५ मुद्धा दर्ता भएकोमा ५७ जनालाई पक्राउ गरी कारबाही गरिएको छ भने ९ अभियुक्त फरार रहेको प्रहरीले जनाएको छ । 
 
प्रहरीको तथ्यांकले जिल्लामा महिला तथा बालिकामाथि हुने यौन हिंसाका घटना बढ्दै गएको प्रष्ट हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) प्रभुप्रसाद ढकाल बताउँछन् ।