काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर जवराले सरकारले हालै विभिन्न शीर्षकमा वृद्धि गरेको कर तथा अन्तःशुल्क अविलम्ब फिर्ता गर्नुपर्ने बताएका छन् ।
पार्टीले माइतीघर मण्डलामा बुधबार आयोजना गरेको विरोधसभामा उनले स्थानीय तहदेखि केन्द्रसम्म विभिन्न प्रकारका कर वृद्धिले जनताको जीवनशैलीमा नकारात्मक प्रभाव पार्ने गरेको बताए ।
मुलुकको विकास, समृद्धि, शान्ति तथा सुशासनका लागि सरकारले जनादेश प्राप्त गरेको भए पनि सरकार त्यसतर्फ संवेदनशील नभएको उल्लेख गर्दै उनले महँगी र भ्रष्टाचार नियन्त्रण गरी जनजीविकाको सवालमा गम्भीर बन्न सरकारलाई आग्रह गरे ।
पार्टीका उपाध्यक्षद्वय दीपक बोेहरा र केशरबहादुर विष्टले सरकारले देशमा शान्तिसुरक्षा र प्रशासनिक सुशासन कायम गर्न नसकेको आरोप लगाउँदै संवैधानिक निकायमा अनावश्यक हस्तक्षेप नगर्न सरकारलाई सुझाव दिए ।
महामन्त्री राजाराम श्रेष्ठले यही साउनभित्र प्रादेशिकस्तरमा सम्मेलन सम्पन्न गरी संगठन सुदृढीकरणलाई तीव्रता दिइने जानकारी दिए ।
पार्टीका नेता राजेन्द्र गुरुङ, महिला संगठनका संयोजक कमला शर्मा, सहप्रवक्ता किरण गिरीलगायतले अहिले कालो बजारीले गरिरहेको मूल्यवृद्धिले जनताको ढाड सेकेको हुँदा त्यसतर्फ नियमन गरी ठगी गर्नेलाई कडा कारवाही गर्न सरकारलाई आग्रह गरे । तस्बिर : मीना घोरसाइने / रासस
प्रतिक्रिया