मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्छु : प्रधानमन्त्री

भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्छु : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताएका छन् । 
 
उनले भने, “हामी भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन चाहन्छौँ । जनतालाई सरकार भएको अनुभूति गराउन चाहन्छौँ ।” 
 
नेपाल टे«ड यूनियन महासंघ र अखिल नेपाल टे«ड यूनियन महासंघ केन्द्रीय एकता संयोजन समितिले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलार्ई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले नेकपाको सरकार गठन भएको पाँच महिना मात्रै भएको भए पनि यही अवधिमा नै सबै बिगारेको जसरी प्रचार गरिएकामा आपत्ति प्रकट गरे । 
 
“हाम्रो सरकार गठन भएको पाँच महिना भयो, भ्रष्टाचार बढेको, सुशासन नभएको, काठमाडौँका सडकमा खाल्डा यही सरकारले पारेको भने जसरी प्रचार भएको छ । विगतमा मुलुकलाई लुटपाट गर्नेले नै कोकोहोलो मच्चाएका छन्”–प्रधानमन्त्रीले भने, “यही पाँच महिनामा नेपाली जनतालाई हामीले गरीब बनाएको होइन, काठमाडौँको सडकमा खाल्डो पारेको पनि होइन । तर हामी गरिब नेपालीलाई समृद्ध बनाउँछौँ र आगामी दुई वर्षभित्र काठमाडौँका सबै सडक हेर्न लायक बनाउँछौ ।” 
 
प्रधानमन्त्रीले नेपालमा भित्र्याइने रकम बैंकिङ प्रणालीबाट मात्रै आउनुपर्नेमा जोड दिँदै गैरकानूनी तवरले कुनै पनि रकम ल्याउन नदिइने बताए । उनले भने, “हुन्डी, कालोधन, गैरकानूनी चलखेल गर्न पाइँदैन । सरकार त्यस्तो गतिविधिलाई सहँदैन । अनियन्त्रित, गैरकानूनी कालोधन गुप्त बाटोबाट नेपालमा आउन पाउँदैन ।” उनले भ्रष्टाचार गर्न नपाइने र नदिइने उल्लेख गर्दै भने, “भ्रष्टाचार नियन्त्रण हुन्छ, भ्रष्टचारीलाई दमन हुन्छ । यो हाम्रो घोषित नीति हो ।”