मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवादास्पद अभिव्यक्तिपछि कानुनमन्त्री तामाङले भक्कानिँदै दिए राजीनामा

विवादास्पद अभिव्यक्तिपछि कानुनमन्त्री तामाङले भक्कानिँदै दिए राजीनामा


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर श्रीमतीलाई सँगै राखेर उनले राजीनामाको घोषणा गरेका हुन् ।
 
उनले महिलाप्रति आफ्नो सधैं सम्मान रहेको बताउँदै छोरीको अस्मिताका लागि आफूले सधैं लडेको स्मरण गराए । बंगलादेशमा महिलामाथि हिंसा भएको सुनेर स्तब्ध भर्इ आफूले त्यसबारे बोलेको प्रष्ट पारे । 
 
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बालुवाटारमै बोलाएर राजीनामा दिन निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीले सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटार बोलाएर राजीनामा दिन लगाएका हुन् । 
 
चिकित्सा शिक्षा सुधारका लागि डा गोविन्द केसीले आमरण अनशन जारी राख्दा आन्दोलनलाई विषयान्तर गर्ने उद्देश्यले बंगलादेश अध्ययनका लागि गएका नेपाली छात्राहरुका बारेमा दिएको अभिव्यक्ति विवादास्पद भएपछि उनको चौतर्फी आलोचना भएको थियो । 
 
चर्को आलोचना थेग्न नसकेपछि नेकपा सचिवालय बैठकको निर्देशनपश्चात् मन्त्री तामाङले राजीनामा दिन बाध्य भएका हुन् । 
 
उनले बंगलादेशमा अध्ययनका लागि गएका छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता बेच्नुपर्ने बताएका थिए । मोरङका एक विवादास्पद व्यापारी दुर्गा प्रसाईंले बंगलादेश गएका चेलीहरुबारे खेदपूर्ण अभिव्यक्ति दिएलगत्तै कानुनमन्त्रीको अमर्यादित अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । आफ्नो अभिव्यक्तिलाई लिएर उनले सार्वजनिक रुपमा माफीसमेत मागेका थिए । मन्त्री तामाङले भावुक हुँदै आफू जहिले पनि महिलाको सम्मान गर्ने व्यक्ति भएको बताए ।
 
 
“मैले जानीजानी कसैलाई सिध्याउने काम गरेको छैन,” तामाङले भने, “जुन विषय उजागर हुन्छ, त्यही विषयले लखेट्दोरहेछ । आज महिलाको इस्युको विषयमा बोलिएको शब्दका कारणले यो अवस्था आएको हो ।”