मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अनशनरत प्राडा केसीका माग हुबहु कार्यान्वयन गर्न सकिँदैन : प्रचण्ड

अनशनरत प्राडा केसीका माग हुबहु कार्यान्वयन गर्न सकिँदैन : प्रचण्ड


चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राडा। गोविन्द केसीको माग हुबहु कार्यान्वयन हुन नसक्ने बताएका छन् ।
 
भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कसैले भनेकै भरमा सबै माग सम्बोधन हुन नसक्ने बताए । 
 
उनले सार्वभौम अधिकारसम्पन्न संसदभन्दा माथि कोही पनि नहुने भन्दै कुनै व्यक्तिले यो या त्यो गर भनेर निर्देशित गर्न नहुने तर्क गरे । प्रतिवेदनमाथि थपघट गर्ने अधिकार सरकारलाई भएको भन्दै प्रचण्डले चिकित्सा शिक्षा विधयकबारे अन्तिम फैसला संसदले गर्ने बताए ।
 
डा केसीलाई काठमाडौं ल्याएर उपचार गर्न र वार्ता गर्न शिक्षा मन्त्रीलाई निर्देशन दिएको अध्यक्ष प्रचण्डले बताए । 
 
सैगरी, गोरखा फुजेलका अधिकारी हत्या काण्डका सम्बन्धमा पत्रकारको जिज्ञासामा प्रचण्डले छविलाल पौडलले अदालतको फैसलालाई सम्मान गर्दै समस्या समाधानका लागि सकारात्मक वातावरण बनाएको दाबी गरे । छविलाल पौडेल समझदारी र जिम्मेवारीका साथ कारागारमा बसेको प्रचण्डले बताए ।
 
उनले फुजेल घटनाबारे आफूले अरु धेरै प्रतिक्रिया दिन नचाहेको बताए । फुजेलका किशोर कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादी कार्यकर्ताले रत्ननगरको बकुलहरचोकमा गोली हानी हत्या गरेका थिए । 
 
अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले कुनै एक प्रदेशको राजधानी अर्को जिल्लामा सारे चारैतिर राजधानी सार्ने हल्ला चल्ने बताए । उनले प्रदेशको राजधानी तोक्ने जिम्मेवारी प्रदेश सरकारलाई दिएको भन्दै प्रदेशको दुई तिहाइले जहाँ भन्छ त्यहाँ राजधानी हुने उल्लेख गरे । 
 
आफू चितवनवासी भएको नाताले चितवनमा नै राजधानी हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ । आफ्नो ध्यान चितवनसहित सिंगो राष्ट्रको विकासमा केन्द्रित रहेको भन्दै प्रचण्डले राष्ट्रलाई समृद्धिमा नलगे उपलब्धि संस्थागत गर्न नसकिने जिकिर गरे ।