मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आमाको अचानक मृत्युपछि सन्तानको बिचल्ली

आमाको अचानक मृत्युपछि सन्तानको बिचल्ली


चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३, झुरझुरेमा बुधबार छिमेकीको खेत रोपाइँमा बीउ काड्दाकाड्दै खेतमा ढलेर ३४ वर्षीया श्रीमती शान्तिमाया चेपाङको एक्कासि मृत्यु भयो । उनको हृदयाघातबाट मृत्यु भएपछि चेपाङ परिवारकै बिचल्ली भएको छ । 
 
भण्डाराको झुरझुरेबाट एक किलोमिटर उत्तर पखेरामा ४२ वर्षीय जीतबहादुर चेपाङको ऐलानी जग्गामा ब्लकले बनेको सानो घरमा शान्तिमायाको मृत्युले सन्नाटा छाएको छ । 
 
ज्याला मजदुरी गरेर ६ जना परिवारको पेट पाल्ने शान्तिमायाको मृत्युको शोकले विक्षिप्त परिवारले के गर्ने, कसो गर्ने केही मेसो नै पाएका छैनन् । बिहीबार बिहान जीतबहादुरको घर पुग्दा उनी घरको पिँढीको एकछेउमा झोक्र्याएर सन्ताप गर्दैथिए । श्रीमतीसँगै बीउ काडेका बेला अचानक मृत्यु भएपछि उनी अर्धचेत अवस्थामा छन् । 
 
१९ वर्षीय छोरा कृष्णबहादुर घरी यता घरी उता गरिरहेका थिए । घरमा जम्मा भएका छिमेकी र आफन्तले यो परिवारको नियति बताइरहेका थिए । केही आफन्त पोस्टमार्टम गरेर शान्तिमायाको शव राप्ती नदीमा ल्याउने तयारी गर्दैथिए । शान्तिमायाको अन्त्येष्टिमा जुट्दै गर्दा घरमा खाने एक गेडो अन्न थिएन । बच्चा भोकै हुने भएपछि चार केटाकेटीलाई बुधबार साँझ नै गडुवास्थित काकाको घरमा लगिएको थियो । 
 
काकी लालमाया चेपाङ भन्छिन्, ‘के गर्नु, घरमा कन्तबिजोग देखेर यी चार बच्चालाई लिएर आएँ, आमा मरेको यी अबोधलाई केही थाहा छैन । हामी पनि हुनेखाने होइनौँ, ज्याला मजदुरी गरेरै पेट पाल्दै आएका छौँ ।’ 
 
जीतबहादुरका ६ सन्तानमध्ये जेठी छोरीले आफूखुसी बिहे गरिन् । परिवारमा जेठा छोरा कृष्णबहादुर, १० वर्षीया सुकमाया, ९ वर्षीय सुजन, ७ वर्षीय सुमन र ३ वर्षका मिलन छन् । चार बालबालिका बुद्धशान्ति मावि भण्डारामा पढ्छन् । सुकमाया र सुजन १ कक्षामा पढ्छन् भने सुमन र मिलन शिशु कक्षामा भर्ना भएका छन् । 
 
काकीको घरमा पुग्दा चार बालबालिका मलिन अनुहारमा पिँढीमा लहरै बसिरहेका थिए । उनीहरुलाई आमा बितेको केही पत्तो थिएन । बुद्धशान्तिका शिक्षक विश्वास सेढाईं र रेखा सेढाईं बालबालिकाको अवस्थाप्रति चिन्ता प्रकट गर्दै सुकमाया र सुजनलाई परीक्षा दिन विद्यालय पठाउन आग्रह गरिरहेका थिए । शिक्षक विश्वासले बच्चाका लागि विद्यालयका तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिलाए । 
 
शिक्षिका रेखा भन्छिन्, ‘बच्चाहरुको पढाइ राम्रो छ, राम्रोसँग पढ्न पाए उनीहरुले भोलि प्रगति गर्न सक्छन् । यिनीहरुको भविष्यका लागि कुनै संस्थाले संरक्षण लिएर उद्धार गरिदिनुपर्छ ।’
 
चार–पाँच वर्षअघि जीतबहादुर ट्यांकर दुर्घटनामा परेर मुस्किलले बाँचेका थिए । उनी दाहिने आँखा देख्दैनन् । शारीरिकरुपमा पनि कमजोर छन् । परिवारको पालनपोषण गर्ने घरमूली नै नरहेपछि यो परिवार साह्रै बिचल्लीमा परेको स्थानीय सञ्चारकर्मी गोपाल विक बताउँछन् । 
 
परिवारको बिचल्ली देखेर स्तब्ध भएका चेपाङ अभियन्ता केपी किरण शर्मा चेपाङ परिवारमा परेको पीडा कम गर्न संघसंस्थाले तत्काल राहत जुटाउन जरूरी रहेको बताउँछन् । भन्छन्, ‘बालबालिकाको भविष्यका लागि स्थानीय संघसंस्थाले केही पहल गरिदिनुपर्छ । कहीँकतैबाट केही उपाय लागेन भने चेपाङ संरक्षण केन्द्रले बालबालिकाको संरक्षण गर्न तयार छ ।’

शेयर गर्नुहोस:

0
Shares