मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुर्घटनामा बाबुछोरीको मृत्यु, आफन्त घाइते भएपछि शोकमा गाउँ

दुर्घटनामा बाबुछोरीको मृत्यु, आफन्त घाइते भएपछि शोकमा गाउँ


पर्वत । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ । 
 
मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका कमल लामिछानेका छिमेकी रामकृष्ण लामिछानेका अनुसार कमलका दाजु रोजगारीको सिलसिलामा कोरियामा रहनुभएको छ भने भाउजु छोरीका साथ सदरमुकाम कुश्मा बस्दै आएका छन् । कटुवाचौपारीको घरमा कमल र ५५ वर्षीया विधवा आमामात्रै रहँदै आएका थिए । 
 
मंगलबार आँबुखैरेनीबाट डुम्रेका लागि छुटेको ग १ ख ३०७३ नम्बरको बसले बा १७ च १८१४ नम्बरको भ्यान र ग ५ प १९४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चारजनाको मृत्यु भएको थियो । 
 
दुर्घटनामा मृत्यु भएकामध्ये दुईजना पर्वतको कुश्मा नगरपालिका–९, कटुवाचौपारीका २५ वर्षीय कमल लामिछाने र उनकी तीन वर्षीया छोरी ममता लामिछानेको उपचारको क्रममा गण्डकी मेडिकल कलेज, पोखरामा मृत्यु भएको हो । 
 
दुर्घटनामा गम्भीर घाइते भएकी कमलकी श्रीमती २० वर्षीया पार्वतीको पनि गण्डकी मेडिकल कलेजमा नै उपचार भइरहेको छ । दुर्घटनाका अन्य घाइतेमा चितवन भरतपुर–६ की २० वर्षीया सरु पाठक, पर्वतको कुश्मा नगरपालिका–१३, खौलाका २४ वर्षीय गुरुदत्त तिवारी, वडा नं २ खुरकोटकी ३९ वर्षीया सीतादेवी चालिसे र नवलपरासी सुस्ताका ३५ वर्षीय आनन्द तिवारी छन् । उनीहरु पनि मृतकका आफन्त नै हुन् । 
 
कुश्माबाट काठमाडौँ जाने क्रममा मृतक लामिछाने र आफन्त एउटा निजी प्रकाशन गृहको भ्यानमा त्यसतर्फ जाँदै थिए । काठमाडौँको निजी पब्लिकेशनमा काम गर्दै आएका मृतक लामिछानेकी श्रीमती पार्वती र छोरी भने मनकामना मन्दिरमा पूजा गर्न हिँडेको आफन्तले बताएका छन् । 
 
यसैगरी, दुर्घटनामा मृत्यु हुने अन्य दुईजना तनहुँकै आँबुखैरेनी–४ का २६ वर्षीय डिलबहादुर थापा र २८ वर्षीय नुनबहादुर खवास रहेका छन् । रासस