मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एघार घण्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो

एघार घण्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नाम्ची खोलामा मंगलबार बिहान खसेको पहिरो पन्छाएर सवारी आवागमन खुल्ला गरिएको छ ।
 
बिहान ५ः२० बजे पहिरो खसेपछि सडकअवरुद्ध बनेको थियो । पहिरो पन्छाएर दिउँसो ३ः५० बजेदेखि दुईतर्फी सडक खुल्ला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । 
 
ठूलो पहिरो खसेको र शुरुमा ठेकेदार कम्पनीले यसअघि पहिरो पन्छाएको भुक्तानी नभएको भन्दै काम नगरेपछि पहिरो पन्छाउन ढिलाइ भएको हो ।
 
पहिरो पन्छाउन बिहान ८ः३० बजेबाट दुई वटा एक्साभेटर र एउटा लोडर प्रयोग गरिएको थियो । मुग्लिनबाट ३.४ किलोमिटर नारायणगढतर्फ नाम्ची खोला पर्दछ ।
 
सो ठाउँमा गतवर्ष तत्कालीन संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा संसदीय टोलीले निरीक्षण गरेकै दिन पनि पहिरो खसेको थियो । त्यसपश्चात् पुनः मंगलबार बिहान पहिरो खसेको हो । 
 
दुई दिनदेखि सो सडकखण्डका ठाउँठाउँमा सानातिना पहिरो खस्दा सडक अवरुद्ध हुने र खुल्ने हुँदै आएको थियो । बिहानै पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरुले हैरानी व्यहोरेका छन् ।
 
गन्तव्यका लागि हिँडेका यात्रुको विचल्ली भएको पहिरोकै कारणबीच सडकमा रोकिएका नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले बताए । बिहान समयमा पहिरो नपन्छाएका कारण यात्रुले लामो समय दुःख पाएको उनले बताए । रासस