मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार

चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार


काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ । 
 
प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो । 
 
प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा भिसासमेत नलगाइकन उनीहरूलाई बुटवल लैजाँदै गर्दा काठमाडौँका विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिए ।
 
“उद्धार गरेकामध्ये चार जना आफूखुशी म्यानपावरबाट जान लागेको, चार जनालाई पासपोर्टसहित बुटवल हुँदै भारत जाँदै गर्दा र बाँकी दुई जनालाई बिना पासपोर्ट भारत लैजाँदै गर्दा नियन्त्रणमा लिएका हौँ,”–उनले भने । 
 
आफूखुशी जान लागेका चार जनालाई भने सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ भने बाँकी छ जनालाई संरक्षणका लागि शक्ति समूह चुच्चेपाटी पठाइएको प्रभागले जनाएको छ । लैजाने व्यक्ति भने फरार रहेका छन् । (रासस)