एजेन्सी । भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलको बाँसबारीस्थित गारनिस होटलमा एक जोडी प्रेमीप्रेमिकाले आत्महत्या गरेका छन् । 
	मंगलबार दिउँसो ४ बजे होटल बुक गरी कोठा नम्बर २०३ मा प्रवेश गरेका उक्त जोडी बुधबार करिब २ बजेसम्म पनि ढोका नखुलेपछि मात्रै आत्महत्या गरेको खुलासा भएको हो ।
	महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बुधबार करिब २ बजे होटल सञ्चालकले मंगलबार पसेको जोडीको कोठाको ढोका नखुलेको खबर गरेका थिए । खबरपश्चात् त्यहाँ पुगेको प्रहरीले ढोका फोडी हेर्दा उक्त जोडी मृत अवस्थामा फेला परेको थियो ।
	प्रहरी परिसरले भक्तपुर नगरपालिका ३ दरबार क्षेत्रका ३० वर्षीय जीवन त्वायना र दोलखाको बोच गाउँपालिका ८ की २२ वर्षीया मुन्नी तामाङ होटलको कोठामा मृत फेला परेको जनाएको हो । परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले मुन्नी खाटमा रगताम्य मृत अवस्था र जीवन कोठाभित्रको बाथरुमको सावरमा प्लास्टिकको कम्मर पेटीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको बताए ।
	होटल सञ्चालकले खबर गरेपछि महानगरीय प्रहरी वृत्त जगातीका वरिष्ठ प्रहरी अधिकृतको टोली घटनास्थल पुगेको थियो । होटलको कोठामा भित्रबाट चुकुल लगाइएकाले प्रहरीले कानुनअनुसार ढोका फोड्नुपरेको थियो । त्यस्तै, कोठाभित्रको बाथरुममा समेत चुकुल लगाइएको जगाती वृत्तका प्रमुख नायब प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
	उक्त घटनाको अवस्था हेर्दा प्रेमिका मुन्नीको हत्यापछि जीवनले बाथरुमभित्र आत्महत्या गरेको देखिने उनी बताउँछन् । तर जीवनले आत्महत्या गरेको सहन नसकेपछि मुन्नीले पनि आत्महत्या गरेको हुनसक्ने उनको भनाइ छ । घटनास्थलमा सिसाका टुक्राहरु बरामद भएका छन् ।
	‘होटलको कोठामा मात्रै होइन, बाथरुमको ढोकामा समेत चुकुल लगाइएको थियो’, प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने, ‘मुन्नी लडेको खाटभरि रगतैरगत थियो । बाथरुमभित्र चुकुल लगाएर जीवन झुण्डिएको अवस्थामा भेटिए ।’ उनका अनुसार जीवन र मुन्नी एकअर्कालाई माया गर्ने उनीहरुका परिवारले स्वीकार गरेका छन् । उनीहरुको मायाप्रेमबारे परिवारलाई समेत जानकारी रहेको उनले बताए ।
	परिवारले उनीहरुको मायाप्रेममा कुनै बाधा व्यवधान नगरेकोसमेत सुनाएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक श्रेष्ठले सुनाए ।‘दुवैको घरपरिवारलाई उनीहरुको मायाप्रेमबारे जानकारी थियो ।
	उनीहरुको मायाप्रेममा दुवैको घरपरिवारबाट कुनै अस्वीकार र बाधा व्यवधान नहालेको परिवार बताउँछन्’, उनले थपे, ‘यस्तो अवस्थामा जीवन र मुन्नीले यो बाटो किन रोजे भन्नेबारे उनीहरुका घरपरिवार आश्चर्यमा छन् । अहिले उनीहरु शोकमा छन् ।’
	प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । जीवन र मुन्नीको शव पोस्टमार्टमको लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको जगाती वृत्तले जनाएको छ । -अन्नपूर्ण पोष्टबाट 
             
 
                                                    


                    
                    
                    
                    
प्रतिक्रिया