काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको सय दिनको कार्य विवरण हेर्दा उपलब्धिमूलक नभएको बताएका छन् ।
वन, वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले सरकारले संघीयता र समावेशीताविरुद्ध एकाधिकार कायम गरेको बताउँदै सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको बताए ।
रक्सौल र कोराला नाकाबाट काठमाडौँमा रेल गुडाउने कुरा गरेर सरकारले भारत र चीनलाई रिझाउनेबाहेक अरू केही काम नगरेको बताउँदै उनले भने, “बर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले अल्झाएर राखेको छ, अब काठमाडौँमा रेल ल्याउने कुरा पनि त्यसैगरी अल्झाएर (होल्ड) गरेर राख्छ ।”
अहिलेको सरकारले हुलाकी राजमार्गको काम अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । उपसभापति निधिले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न, राष्ट्रिय एकताका लागि, विकास तथा समृद्धिका लागि आफ्नो पार्टीले सरकारलाई सकारात्मक रूपमा सहयोग गर्ने बताउँदै देश विकासका लागि आवश्यक गृहकार्य गर्न दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारले प्रयत्न गर्नुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया