११ औं गणतन्त्र दिवसको अवसरमा केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले ८१६ जना कैदीलाई माफी दिएको छ ।
जसमा उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल पनि जेलमुक्त भएका छन् ।
मंगलबार बिहानै जेलमुक्त भएपछि उनले खुसी हुँदै भने, “म सर्वोच्च अदालतलाई सम्मान गर्छु । तर, त्यो रिट पहिले नै खारेज हुनुपर्दथ्यो । यति लामो बहस गरिरहनुपर्ने थिएन ।”
उनले आफू गणतन्त्रको लागि लडेको उल्लेख गर्दै गणतन्त्रको माग गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले जेल हालेको स्मरण गरे । उनले डलरबादीले आफूलाई जेलमै सडाउने षडयन्त्र गरेको आरोपसमेत बताए । उनी जेलमुक्त भएसँगै नेकपाका कार्यकर्ताले फूलमाला लगाएर सम्मान गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपतिको कार्यालयले कैदीहरुलाई जेलमुक्त गरेको हो । विज्ञप्तिमा मन्त्रिपरिषदको सिफारिसमा एघारौं गणतन्त्र दिवसको उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासहित ८१६ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको उल्लेख गरिएको छ ।
सरकारले बालकृष्ण ढुंगेलसहित ८१६ जनालाई माफीका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।माफी पाउनेमा ढुंगेल पनि छन् । उनी डिल्लीबजार कारागारमा रहेका थिए । डिल्लीबजार कारागारबाट उनीसँगै २६ जना कैदी रिहा भएका छन् । यसअघि कारागार व्यवस्थापन विभागले ८१६ जना कैदी बन्दीलाई रिहा गर्न भन्दै सरकारलाई सिफारिस गरेको थियो ।







प्रतिक्रिया