मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

उडुस पाल्ने अमेरिका !

उडुस पाल्ने अमेरिका !


झट्ट सुन्दा पत्यार नलाग्न सक्छ । तर यथार्थता अर्थात सत्य कहानी हो । म कुनै समय अमेरिकामा बेडबग (उडुस) को आहारा थिएँ । ओक्लाहोमा राज्यको एडास्थित ईष्ट सेन्ट्रल युनिभर्सिटी (इसियु) मा सेकेन्ड सेमेस्टर पढ्दै थिएँ । कामको खोजिमा दुईसय माईल टाढा टेक्ससमा साथीको अपार्ट्मेन्टमा बस्थेँ । साथीहरू बेडरूममा सुत्दैनथे । हुनतः म पनि राति कामबाट थाकेर अपार्टमेन्टमा अाइपुग्थेँ । बिहान उज्यालो नहुँदै फेरि निस्किएर काममै पुगिहाल्थेँ । 
 
साथीहरू बेडरूम छाडेर काउचमा सुतेको देख्दा सुरूमा त बेडरूममा सुत्ने अरूनै साथीहरू पनि छन् कि जस्तो लाग्यो । तर एक रात पत्ता लगाएँ, बेडरूम त पुरै खाली थियो । बेड थियो, तर कोही पनि त्यसमा सुत्दैनथे । बुझ्दै जाँदा थाहा पाएँ हामी बस्ने अपार्टमेन्ट त उडुसको जालोमा परिसकेको रहेछ । 
 
भोलीपल्ट बिहान नेपालमा आमालाई फोन गरेर सबै बेलीबिस्तार लगाएँ । आमाले हाँस्दै सोध्नु भयो,–‘लाै, अचम्म अमेरिका जस्तो देशमा पनि उँडुस हुन्छ र ?
 
मैले जबाफ फर्काएँ,–‘अँ हुँदो रहेछ ।‘ त्यसपछि प्रत्येक पटक फोनमा आमासँग कुरा हुँदा उडुसका कुरा छुट्दैनन् । मैले जानकारी पाएसम्म अमेरिकामा सबै एक पटक उडुसको शिकार भएकै हुन्छन । तर उडुसका कुरा कोही पनि खुलेर गर्न चाहदैनन् । सायद चिप र फोहोरी सोच्छन भनेर होला । घरमा पेष्ट कन्ट्रोल बोलाईसकेका साथीहरु पनि उडुस कस्तो हुन्छ भन्दै पानी माथीको ओभानो बन्न खोज्छन् । 
 
यो अमेरिकाको साझा समस्या हो । गत महिना मात्रै अमेरिकाको क्यालिफोर्निया राज्यमा लिलीयाना मार्टिनीजका दम्पतिले उडुसले टोके बापत १ दशमलव ६ मिलियन अमेरिकी डलर पाए । आफ्नो तीन बर्षिया छोरा जर्ज जुनियर र तीन महिने छोरिको जीउमा रातो डाबर देखिन थालेपछी उनीहरुले आफु बस्ने अपार्मेन्ट विरूद्ध मुद्धा दर्ता गरे । अदालतले अपार्टमेन्ट दोषी ठहर्याएपछि उनीहरुले सो रकम पाएका थिए ।
 
सन २०१३ मा मेरिल्यान्ड राज्यकी ६९ बर्सिया फाईका साबेनले अपार्ट्मेन्ट्को लापर्बाहीले उडुस कोठामा आएको भन्दै आफुले फालेको सम्पुर्ण सामानको क्षतिपुर्ती माग गर्दै मुद्धा हालिन् । अदालतले पनि फैसला उनकै पक्षमा दियो । उनले आठ लाख डलर क्षतिपुर्ती पाईन ।
 
उडुसबाट धेरै कमले मात्रै लाभ लिएका छन् । कन्चटमा बन्दुक तेर्साउँदा नडराउने अमेरिकीहरु एउटा उडुसको बच्चो देख्दा तर्सिन्छन्। गत वर्ष म टेक्सस मुभ भएपछी आर्लिङ्गटन सिटीको अपार्ट्मेन्टमा एक बर्षको लागि लिजमा साईन गर्नुपर्ने भयो । लिज मेनुको दोश्रो पेजमा ठुला अक्षरले लेखिएको थियो,-‘आई याम रेस्पोन्सिबल फर बेडबग कन्ट्रोल्' अर्थात उडुस परेको खण्डमा म आफैँ जिम्मेवार हुनेछु । 
 
मैले हाउजिङ अफिसमा मलाई लिज साईन गराउने स्पेनिस केटी लाई सोधेँ– “यो बेड्बग वाला पेपरमा साइन गरिन भने के हुन्छ ?
 
उनले खरो उत्तर फर्काईन्–‘सरि तिमी यो अपार्टेमेन्टमा बस्न पाउँदैनौ” । मैले थप केही नसोधि लिज साईन गरे र बाहिर निस्किएँ । अमेरिकी घरहरु पुरै काठले बनेका हुन्छन्, उडुस पेरिसके पछी हटाउन निकै महंगो पर्छ । 
 
उँडुस काठको चेप, बेडको मुनि, कार्पेट मुनि लुकेर बस्छन् । रात परेपछि यिनीहरू सल्बलाउन थाल्छन् र मानिसलाइ टोक्न थाल्छन् । उँडुसले घरमा बासस्थान बनाइसकेपछि फर्निचर, कपडाहरू पुरै मिल्काउनुको अर्को विकल्प छैन । 
 
ड्यालासको अर्भिङ सिटीमा बस्ने एक जना केटी साथीले उडुस परेर पेष्ट कन्ट्रोल ट्रिटमेन्ट गरेको सुनाईन् । मैले सोध्न भ्याईहाले– ‘कति खर्च लाग्ने रहेछ ?‘ उनले नाक खुम्च्याउदै जवाफ फर्काइन्, ‘अाठसय डलर पर्यो नि । भएभरका सबै सामानहरु फाल्नु पर्‍यो ।'
 
हामी जस्तो विद्यार्थीलाई दुई चार पैसा बचाउन पाए सेमेष्टर फी तिर्नु पुग्नेथियो भन्ने हुन्छ । उडुस परिसकेपछिको दिनरातको तनाब र फोकटमा पैसा जाने कुराले धेरै लाई सताएको छ । 
 
अमेरिकाको पाँच तारे होटेल होस्, या युनिभर्सिटीको ड्रोम रुम होस या लाईब्रेरी, उडुसको सबै तिर बिगबिगी छ। यदी तपाई अमेरिकामा हुनुहुन्छ र एक पटक पनि उडुसको पीडा भोग्नु परेको छैन भने मान्नुहोस तपाई मिलियन डलरको मेगा मिलिएन वा पावर बलको ज्याकपट पर्नेभन्दा पनि पनि धेरै भाग्यमानी हुनुभयो ।